बैशाख २४, २०८१ सोमबार

किराँत राई यायोक्खा अर्जुनधाराको भवन शिलान्यास

इन्द्रकुमार राई
शनिश्चरे । माघे संक्रान्ति अवसर पारेर किराँत राई यायोक्खा अर्जुनधारा नगरसमितिको कार्यालय भवन आज एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा अर्जुुनधारा नगरपालिकाका मेयर बलदेवसिंह गोम्देनले वडा नम्बर ९ कटहरडाँडास्थित यलम्बर शालिक छेउ संस्थाको जग्गामा भवनको शिलान्यास गरेका हुन् ।

आगामी आर्थिक बर्ष ०८१-०८२ सम्ममा निर्माण कार्य सम्पन्न गरिने कार्यालय भवन अढाई तले शौचालाय र सभाहल सहित १२ कोठे रहने छ । त्यसको अनुमानित लागत ४० लाख रुपैयाँ खर्च लाग्ने यायोक्खाका सचिव सिंहबहादुर चाम्लिङ राईले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरपालिकाबाट ५ लाख, अर्जुनधारा नगरपालिका – ११ सालबारी ( हाल अमेरिका ) मनोज बान्तवा राईबाट ७ लाख, किराँत राई यायोक्खा अर्जुनधारा नगर समितिका अध्यक्ष बिजय साम्पाङ राईबाट २ लाख र चन्द्रबहादुर राईबाट १ लाख रुपैयाँ भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त हुने र अन्य दाता महानुभावहरुबाट पनि सहयोगका लागि अनुरोध गरिएको बताइएको छ ।

संक्रान्तिका दिन बिहान ९ः३० बजे साइत जुराएर राई मुन्धुमले चिन्डो राखी पूजा गर्दै भवनको शिलान्यास गरिएको उनले बताए । शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिका –९ का वडा अध्यक्ष भिष्म मिश्र, मेयरका स्वकीय सचिव गजेन्द्र खनाल , यायोक्खाका सल्लाहकार सदस्य क्याप्टेन शिवकुमार राई, सहसचिव प्रेम चाम्लिङ राई, साँस्कृतिक विभाग संयोजक ढाक बहादुर चाम्लिङ राई, पूर्व उपाध्यक्ष भरतसिंह राई लगायतको उपस्थिति रहेको थियोे ।

त्यसपछि दिउँसो यले संवत् ५०८४ को अवसरमा यायोक्खा नगर समितिले यलेदोङ समारोह आयोजना गरेको थियो । समारोहका प्रमुख अतिथि एवं किराँत राई यायोक्खा झापाका अध्यक्ष गणेश बहादुर राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।

सोही अवसरमा वडा नम्बर ९ निवासी जग्गादाता बलबहादुर कुमाल र वडा नम्बर ४ रातेखाल निवासी दाता मीना राईलाई सम्मानपत्रसहित पगरी गुथेर सम्मान गरिएको थियो । अध्यक्ष साम्पाङ राईको सभापतित्व र सचिव चामलिङ राईले संचालन गरेको कार्यक्रममा किराँत राई यायोक्खा झापाका सदस्य गौरीमान राई, सल्लाहकार सदस्य समर थुलुङ राई, नगर समितिका सल्लाहकार दिपीन राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : माघ १, २०८० सोमबार  ६ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]