बैशाख २५, २०८१ मंगलबार

पार्किङ शुल्क विवादले माइमेलाको सधै बद्नाम

बिर्तामोड । झापाको माई मेलामा सम्झौता विपरित पार्किङ शुल्क लिएको भन्दै चर्को विरोध भएको छ । हरेक वर्ष पार्किङ शुल्ककै कारण माइमेला बदनाम हुने गरेको हो ।

धार्मिक मेलाको नाममा ठेकेदारले सवारीसाधनबाट मनपरी पार्किङ शुल्क असुल्ने जोखिम भएपछि कनकाई नगरपालिकाले रकम नै तोकेर सूचना आव्हान गरेको थियो ।

साइकल २० रुपैयाँ, मोटरसाइकल ५० रुपैयाँ, कार, जिप, भ्यान लगायत साना सवारीलाई १०० रुपैयाँ र ठूला सवारीसाधन बस, ट्रक बापत २०० रुपैयाँ लिने गरी दररेट सूचना उल्लेख छ । तर मेला ठेकेदारले कनकाई धार्मिक रमाइलो माई मेला २०८० उल्लेख गरिएको रसिदमा एक सयदेखि तीन सय रुपैयाँसम्म रकम असुलेको फेला परेको छ । स्कुटर तथा मोटरसाइकल बापत रसिद नम्बर २७१२ बाट १०० रुपैयाँ र रसिद नम्बर १२२० बाट कार, भ्यान जिप लगायत साना सवारीको ३०० रुपैयाँ लिएको रसिद फेला परेको छ ।

मोटरसाइकलमा तोकिएको भन्दा ५० र साना सवारीमा १०० रुपैयाँ बढी शुल्क मेला ठेकेदारले उठाएको भेटिएको छ । सूचनाको ८ नम्बर बुँदा प्रस्ट भनिएको छ कि, नगरपालिकाको उपलब्ध गराएको दररेटको अधीनमा रही रकम असुल गर्नु पर्नेछ । ठेकेदारले तोकेको भन्दा फरक रकम लिएको रसिद भेट्टाएपछि अहिले पार्किङ शुल्क बारे चौतर्फी आलोचना भइरहेको छ ।

नगरपालिकाले यस वर्ष पनि सूचना निकाल्दा कुन सवारीसाधनबाट कति रकम असुल्ने भनी रकम नै तोकेर सूचना निकालेको थियो । तर, मेला ठेकेदारले यस वर्ष पनि नगरपालिकाको नियमको धज्जी उडाउँदै आफूखुसी रकम असुलेको पाइएको छ ।

नगरपालिकाले न्यूनतम १० लाख रुपैयाँ तोकेर पुस ६ गते प्रथम पटक माई मेला सञ्चालनको शिलबन्दी दरभाउ पत्र सम्बन्धी सूचना निकालेको थियो । प्रथम पटकमा ठेक्का नलागेपछि नगरपालिकाले पुस २३ गते पुनः दोस्रो पटक सूचना निकालेको थियो । त्यस सूचनामा सवारीसाधनबाट असुल्ने पार्किङ शुल्कको दररेट कायम गरिएको थियो ।

नगरपालिकाले १० लाख रुपैयाँमा नघट्ने गरी सूचना प्रकाशित गरेपनि भ्याटसहित अनुमानित २४ लाख रुपैयाँमा छाया भरत कन्स्ट्रक्सन प्रालिले मेलाको ठेक्का लिएको कनकाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जानकारी दिए । पालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिएमा कम्पनीलाई कारबाही गरिने उनले बताए ।

कारबाही गर्ने विभाग फरक भएकोले कस्तो कारबाही हुन्छ भन्ने विषयमा ज्ञान नभएको उनको भनाई छ ।
त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मेलामा बढी रकम असुलेको बारेमा नगरपालिकासँग जानकारी लिने बताए । ‘नगरपालिकाले तोकिएको दररेटभन्दा बढी रकम लिनु गलत हो,’ उनले भने ।

माघे सङ्क्रान्तिका दिन पूर्वको प्रसिद्ध धार्मिकस्थल कनकाई नदी किनारमा हरेक वर्ष माई मेला लाग्छ । यस वर्षपनि मेलामा भक्तजनहरूको घुइँचो लागेको थियो । सोमबार बिहानैदेखि कनकाई नदी किनारमा पूजापाठ गर्ने भक्तजनहरूको भीड लागेको थियो ।

प्रकाशित मिति : माघ १, २०८० सोमबार  ७ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]