बैशाख १५, २०८१ शनिबार

गौरादह आँखा अस्पतालको उद्घाटन

गौरादह । झापाको गौरादहमा आँखा अस्पताल सञ्चालनमा आएको छ । गौरादह– २ स्थित गौरादह बजारमा आँखाको प्राथमिक उपचारदेखि शल्यक्रिया लगायतका सेवा प्रदान गर्ने गरि स्थापना गरिएको गौरादह आँखा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

गौरादह आँखा अस्पताल संचालनमा ल्याएसँगै यस क्षेत्रका स्थानीयले आँखा सम्बन्धी उपचारको सुबिधा लिन सक्ने भएका छन् । कोशी प्रदेशका सभामुख अम्बर बिष्टले आज एक कार्यक्रमका बिच गौरादह आँखा अस्पतालको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै प्रदेश सभामुख बिष्टले ग्रामीण क्षेत्रमा सञ्चालनमा ल्याइएको अस्पतालको निकै महत्वपूर्ण भुमिका रहने बताए ।

‘गौरादहमा सञ्चालनमा ल्याइएको आँखा अस्पताल आफैंमा महत्वपूर्ण भुमिकामा रहन सक्छ, गाउँगाउँमा अस्पताल आजको आवश्यकता हो’, सभामुख बिष्टले भने ।

कार्यक्रमका विशिष्ट अतिथि तथा गौरादहका नगर प्रमुख छत्रपति सुवेदीले अस्पतालहरु स्थानीय ऐन अनुसार नगरपालिकामा अनिवार्य रूपमा दर्ता हुनुपर्ने औंल्याए ।

‘दर्ता नगरी अस्पताल संचालमा ल्याउँदा कानुनी झन्झटको सामना गर्नुपर्ने हुन्छ । अस्पताल तुरुन्तै दर्ता गराउनुहोस् ।’, उनले भने । गौरादहमा आँखा अस्पतालको अनिवार्य आवश्यकता रहेको बेला गौरादह आँखा अस्पतालको स्थापना गरिएकोमा खुशी व्यक्त गर्दै नगर प्रमुख सुवेदीले अस्पतालले सस्तो र सुलभ दरमा सेवा प्रदान गर्न आग्रह गरे ।

नगर प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले निजी क्षेत्रबाट संचालित भए पनि गौरादह आँखा अस्पतालले गौरादहको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने धारणा राखे । पछिल्लो डेढ वर्षभित्रमा गौरादहले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण फड्को मारेको उल्लेख गर्दै सरकारी अस्पतालको रूपमा नगर अस्पताल र निजी क्षेत्रको लगानीमा मेडिम्याक्स अस्पताल संचालनमा आएको उल्लेख गर्दै गौरादह आँखा अस्पतालले बीमा सेवा सहितको अस्पतालको रूपमा विकसित हुँदै जानुपर्ने सूझाव दिए ।

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष गोपाल प्रसाद कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष उपेन्द्र निरौला, राप्रपा नगर अध्यक्ष शान्तिराम पौडेल, इप्रका प्रमुख चन्द्रीका कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
उद्घाटन समारोह कै सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सभामुख अम्बर विष्ट, मेयर छत्रपति सुवेदी तथा अन्य अतिथिहरुको आँखा परीक्षण गरिएको थियो । उद्घाटन समारोह कै अवसरमा ३ सयभन्दा बढीले गौरादह आँखा अस्पतालबाट आँखा जाँच गराएका छन् ।

अस्पतालका अध्यक्ष ध्रुब गिरीले १ महिनासम्म आँखा उपचारमा निशुल्क सेवा उपलब्ध गराइने जानकारी दिए ।
अस्पतालमा कोशी आँखा अस्पतालका चिकित्सक डा. प्रशान्त चौधरी लगायतको प्राबिधिक टोलीले चिकित्सकीय सेवा प्रदान गर्ने गिरीले बताए ।

प्रकाशित मिति : माघ ३, २०८० बुधबार  ५ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]