बैशाख १७, २०८१ सोमबार

कनकाईमा पालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता हुने

कनकाई, ४ माघ – झापाको सुरुङ्गामा जिल्लास्तरीय पालिका पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ भन्ने मुल नाराका साथ अघि बढेको कनकाई खेलकुद प्रतिष्ठानले खेलकुदका विभिन्न गतिविधिहरु सहित सामाजिक क्षेत्रमा समेत सक्रियता देखाउँदै आएको छ । यसै क्रममा प्रतिष्ठानले अघिल्ला वर्षहरु झै आफ्नो वार्षिक क्यालेण्डरमा भएको कार्यक्रमलाई यस वर्ष पनि संचालन गर्ने तयारी गरेको जनाएको छ ।

सोही अनुरुप कनकाई माविको खेल मैदानमा यहि माघ ६ गतेदेखी वार्षिक कार्यक्रमका रुपमा रहेको पुरुष फुटबल प्रतियोगिता संचालन हुने भएको हो । झापाका १० वटा पालिकाको सहभागीतामा संचालन हुने प्रतियोगिता १७ गते समापन हुने खेल संयोजक रमेशचन्द्र मैनालीले जानकारी दिए । प्रतिष्ठानका तर्फबाट झापाका १५ वटै पालिकालाई प्रतियोगितामा सहभागीताकालागी अनुरोध गरिएको भएपनि केही पालिकाको आफ्नै समस्याका कारण सहभागी हुन नसक्ने जानकारी आएपछि यस पटक १० वटा पालिकाको बिचमा प्रतियोगिता संचालन गर्न लागीएको खेल संयोजक मैनाली बताउँछन् ।

माघ ६ गते शनिवार दिउँसोको ठीक १ः३० बजेदेखी औपचारिक कार्यक्रम साथै २ बजेदेखी खेल संचालन गर्ने गरी समयको व्यवस्थापन गरिएको बताइएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलबाट समुद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेल कनकाई नगरपालिका र गौरीगञ्ज गाउँपालिका बिच हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाई रहेको भएपनि प्रतिष्ठानले प्रथम पुरस्कारका रुपमा १ लाख ११ हजार साथै दोस्रो पुरस्कार ७५ हजार नगद, प्रमाण पत्र र ट्रफीको व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष छबी थपलियाले जानकारी दिए । प्रत्येक दिनको मेन अफ द म्याचको पुरस्कार नगद २ हजार रहेको छ भने खेल अवधिभरका उत्कृष्ट गोल किपर, सर्वाधिक गोल कर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर लगायतको पुरस्कार जनही नगद २ हजार १ सय साथै मेन अफ दि सिरिज ५ हजारको नगद पुरस्कार व्यवस्थापन गरेको प्रतिष्ठानका अध्यक्ष थपलियाले जानकारी दिए ।

मुख्य आर्थिक सहयोग कनकाई नगरपालिकाको रहने प्रतियोगितामा खेल सम्पन्न गर्न ६ लाख ४९ हजार ४ सय खर्चको अनुमान गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा खेलप्रेमी व्यक्तित्वहरु, उद्योगी व्यवसायी, विभिन्न संघसंस्था साथै प्रतिष्ठानका सदस्यहरुबाट समेत आर्थिक सहयोग प्राप्त हुने विश्वास गरिएको छ ।

भmापा जिल्लाकै उच्च स्तरको प्रतियोगिताको रुपमा कनकाई कपलाई थप व्यवस्थित गर्दै यसलाई निरन्तरता दिँदै अघि बढ्ने योजना रहेको आयोजक समितिले जनाएको छ । प्रतिष्ठानले जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता, कनकाई सन्थाल मेला, कनकाई कप, वडास्तरीय खेलकुदका गतिविधिहरुः फुटबल,क्रिकेट,भलिबल लगायतका प्रतियोगिताहरु संचालन गर्दै आइरहेको बताइएको छ ।

प्रकाशित मिति : माघ ४, २०८० बिहीबार  १२ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]