बैशाख २४, २०८१ सोमबार

अर्जुनधारामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

– इन्द्रकुमार राई 

शनिश्चरे । अर्जुनधारामा तीन दिवसीय नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि शुरु भएको छ । खेलाडीहरु राष्ट्रका सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नाराका साथ अर्जुनधारा नगरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

नगरपालिकाद्वारा शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता समुदघाटन समारोहका प्रमुख अतिथि एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । अर्जुनधारा नगरपालिकाका कार्यवाहक प्रमुख नरेन्द्रकुमार श्रेष्ठको सभापतित्व तथा शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदकुमार गौतमको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले प्रतियोगिता सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै, खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारीले शुभकामना मन्तव्य राख्दै नगरपालिका अन्तर्गत खेलकुदमा भएको विसंगतिहरुको भण्डाफोर गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, शनिश्चरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल लगायतको आतिथ्यता रहेको थियो ।

त्यसैबीच शनिश्चरे माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा गत बर्ष १३ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा ट्रिपल जम्प तर्फ स्वर्ण पदक विजेता राजिव ढुंगाना र राष्ट्रिय महिला फुटबल खेलाडी रेनुका जवेगुलाई सम्मान पत्रसहित जनही नगद १०-१० हजार रुपैयाँले पुरस्कृत गरिएको थियो ।

स्वर्ण पदक विजेता रेनुका खड्कालाई सम्मान पत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी १३ औं राष्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरीय प्रतियोगिता २०० मिटर दौडमा रजत पदक विजेता सिंहदेवी माविका प्रतिक्षा दनुवार, ८०० दौडतर्फ लक्ष्मी माविका विनिता श्रेष्ठ र जनता माविका सुशील घोर्साईलाई सम्मान पत्र र मायाको चिनोले सम्मान गरिएको थियो । त्यस्तै १५०० मिटर दौडमा कास्य पदक विजेता शनिश्चरे माविका बबि चौधरी र १०० मिटरमा रुविना खतिवडालाई मायाको चिनोसहित सम्मान गरिएको थियो । ४×१०० रिले दौड छात्रातर्फ जनता माविका रुविना खतिवडा ,दीव्या आचार्य ,करुणा राई दिपिशा राई र ४×४०० रिले दौड छात्रतर्फ न्यू होप ईङ्लिस स्कुलका सन्दिप लिम्बू, पंकज घिमिरे आयुष घिमिरे र ग्रीस बुढाथोकीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

तेक्वान्दोमा रजत पदक विजेता स्वस्तिका शिशु सदनका कुशल श्रेष्ठ, मनिष सार्की र स्मारिका ल्वागुनलाई सम्मान गरिएको थियोे । उशु तर्फ शनिश्चरे माविका प्रतिमा राई, भानु माविकाका रोश्नी धिमाल, न्यू होप इङलिस स्कुलका आकृति बर्देवा, कराँते तर्फ प्रगति बोर्डिङ स्कुल निकेश कार्की, आर्यन दाहाल, विश्वास श्रेष्ठ, भानु माविका रुपा दनुवार लक्ष्मी राजवंशी, राजकुमार दर्जीलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ वटा सामुदायिक र १४ निजी विद्यालयहरु सहभागिता रहने छ । सो प्रतियोगिता १२ गते समापन हुनेछ । प्रतियोगिता समापनको अवसरमा सबै विजेताहरुलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिने शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : माघ १०, २०८० बुधबार  ८ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]