बैशाख २३, २०८१ आईतबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माविलाई

इन्द्रकुमार राई

शनिश्चरे । अन्तर माध्यमिक विद्यालय अर्जुनधारा नगर स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शनिश्चरे माध्यमिक विद्यालयले हात पारेको छ । विद्यालयले विभिन्न विधाका खेलहरुमा १५ स्वर्ण पदक , १० रजत र ९ कास्य जितेर प्रथम स्थान हासिल गरेको हो ।

एथलेटिक्समा ५ स्वर्ण ,६ रजत र ३ कास्य , भलिबलमा १ ,तेक्वान्दोमा ४ स्वर्ण , १ रजत ,४ कास्य, कराँतेमा स्वर्ण , रजत, कास्य १-१ ,उसुमा ५ स्वर्ण ,१ रजत जितेको हो । प्रतियोगितामा जनता माध्यमिक विद्यालय खुदुनाबारीले १३ स्वर्ण पदक , ८ रजत र २ कास्य जितेर द्वितीय भएको छ । विद्यालयले भलिबलमा १ कास्य ,कबड्डीमा २ रजत ,तेक्वान्दोमा २ स्वर्ण र १ रजत जितेको हो ।

त्यस्तै न्यू होप इंग्लिस बोर्डिङ स्कुलले ८ स्वर्ण ,३ रजत पदक जितेर तृतीय भएको छ । न्यू होप इंग्लिस स्कुलले एथलेटिक्समा ५ स्वर्ण ,३ रजत, तेक्वान्दोमा १ स्वर्ण र कराँतेमा २ स्वर्ण पदक जितेर तेस्रो भएको हो । माघ १०, ११ र १२ गते सम्पन्न भएको फाइनल खेलमा प्रतिस्पर्धी लक्ष्मी माध्यमिक विद्यालयले ६ स्वर्ण ,४ रजत र ६ कास्य पदक जितेर चौथो स्थान हासिल गरी चित्त बुझाएको छ ।

विद्यालयले एथलेटिक्स तर्फ २ स्वर्ण, २ कास्य, कबड्डीमा १ कास्य, तेक्वान्दोमा २ स्वर्ण, ४ रजत र कराँतेमा २ स्वर्ण पदक जितेर चौथो भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति अर्जुनधारा नगरपालिकाको आयोजनामा सम्पन्न भएको तीन दिवसीय प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि तथा झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद तिलचन पाठकले (चिन्तन) प्रतियोगिता समापनको अवसरमा प्रथम हुने शनिश्चरे माध्यमिक विद्यालयलाई शिल्ड प्रदान गरेका थिए ।

उक्त शिल्ड विद्यालयका प्रधानाध्यापक विनोद कुमार गौतम मार्फत हस्तान्तरण गरिएको थियो । सो अवसरमा अर्जुनधारा नगरपालिकाका सामाजिक विकास संयोजक भोला परियारको सभातित्व तथा शनिश्चरे माविका शिक्षक तिलचन अधिकारीको सञ्चालन रहेको समापन समारोहमा द्वितीय , तृतीय र चौथो हुने विद्यालयहरुलाई ट्रफी प्रदान गरिएको थियो । विभिन्न खेलहरुमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । प्रतियोगिता फाइनल खेलमा सामुदायिक र संस्थागत गरी २२ वटा विद्यालय सहभागी रहेको बताइएको छ ।

समापन समारोहमा प्रमुख अतिथि पाठकले शुभकामना मन्तव्य राख्दै खेलकुद क्षेत्रको प्रगति उन्नतिका लागि विद्यार्थीहरुलाई लाग्न आग्रह गरे । उनले विद्यार्थीहरुलाई लक्षित गर्दै भने तपाईंहरु जुन ढंगले अगाडि बढ्नु हुन्छ , खेलकुद विकास पनि त्यही ढंगले अघि बढ्छ । कार्यक्रममा शनिश्चरे माविका प्रधानाध्यापक एवम् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका सचिव विनोद कुमार गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यसैबीच कार्यक्रमका विशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका ८ का वडा अध्यक्ष कुमार प्रसाद उप्रेतीले प्रमुख अतिथि पाठकलाई मायाको चिनो प्रदान गरेका थिए ।

प्रकाशित मिति : माघ १५, २०८० सोमबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]