बैशाख २३, २०८१ आईतबार

सहाराले बनायो बुद्धशान्तिको सबै वडामा ज्येष्ठ नागरिक चौतारी

बुद्धशान्ति । सहारा नेपाल साकोसको सहयोगमा झापाको बुद्धशान्ति गाउँ पालिकाका ७ बटै बडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ ।

सोमबार बुद्धशान्ति गाउँ पालिका बडा नं. ५ मा निर्माण गरिएको जेष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजिक समारोहमा बताइए अनुसार बुद्धशान्तिका सबै बडामा चौतारी भवन संचालनमा आएका छन् । सो भवनको गाउँ पालिका अध्यक्ष मनोज प्रसाईले उद्घाटन गर्दै बुद्धशान्ति गाउँ पालिका जेष्ठ नागरिकमैत्री पालिकाको बाटोमा अगाडि बढेको बताउनुभयो ।

झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठुलो सहकारी संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हाल सम्ममा यस प्रकारका २५ बटा जेष्ठ नागरिक चौतारी निर्माण पूरा भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । यस कार्यक्रम अन्तरगत संस्थाको यो वर्ष थप ३ बटा यस्ता भवन निर्माण गरिने योजना रहेको बताइएको छ ।

समाजमा जेष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन गरेर उनीहरुको सहज जीवन यापनका लागि सजिलो बनाउन यस्ता चौतारी भवन उपयोगी सावित भएको सहारा नेपाल साकोसका संचालक समिति सदस्य भोला धितालले जनाउनु भयो । उहाँका अनुसार ती भवन निर्माणका लागि संस्थाले ७ लाख रुपैया र भौतिक सामाग्री उपलब्ध गराउने गरेको छ । त्यस्ता भवन बनाउन गाउँ पालिका वा नगर पालिकाले १० लाख रुपैया छुट्याउने र जग्गाको व्यवस्था स्थानीय रुपमै गर्नुपर्ने नियम छ ।

पूर्वको झापा, मोरंग, सुनसरी, इलाम, उदयपुर र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. ले जेष्ठ नागरिकहरुको खुशीका लागि यो काम अगाडि बढाएको सो संस्थाका जेष्ठ नागरिक उप समिति संयोजक राप्रसाद रोक्काले बताउनुभयो । उहाँका अनुसार संस्थाले यस्ता चौतारी भवनलाई बहुउपयोगी बनाउने र लर्निंग सेन्टरको रुपमा विकसित गर्ने र जेष्ठ नागरिकहरुलाई समय कटाउने ठाउँ मात्र नभई आय आर्जनका लागि पनि उपयोग गर्ने तयारी भइरहेको छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीको भनाइमा त्यस्ता जेष्ठ नागरिक भवनहरुलाई आ आफ्ना उत्पादनहरुको बिक्री गरेर आम्दानी गर्ने थलोको रुपमा विकसित गर्ने, त्यसका लागि स्थानीय तह र समुदायसँग छलफल भइरहेको छ । अहिलेसम्म त्यस्ता चौतारी भवनमा जेष्ठ नागरिकहरु समय कटाउन र आराम गर्न आउने गरेका छन् भने इन्टरनेटको माध्यमबाट देश बिदेशमा रहेका आफन्तहरुसँग कुराकानी गर्ने गरेका छन् । साथै गाउँघरमा हुने कतिपय कार्यक्रम ती भवनमा हुने गरेका छन् ।

 

प्रकाशित मिति : माघ १५, २०८० सोमबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]