बैशाख २४, २०८१ सोमबार

कनकाईले काम गरेरै भ्रमहरुको प्रतिवाद गर्नेछ : मेयर पोखरेल

बिर्तामोड । कनकाई नगरपालिकाका मेयर राजेन्द्र प्रसाद पोखरेलले सबैखाले भ्रम र आलोचनाको प्रतिवाद कामबाटै गर्ने बताएका छन् । मंगलवार आयोजित सार्वजनिक सुनुवाईमा प्रश्नहरुको जवाफ दिदैं कनकाई नगरपालिका विरुद्धका सबैखाले भ्रम कामबाटै प्रतिवाद गर्दै जाने बताएका हुन् । उनले नगरको बजेट घट्दै गइरहेको र दायित्व बढ्दै गइरहेको जानकारी गराएका छन् ।

सार्वजनिक सुनुवाईमा उनले भने – म कसैले भ्रम छर्यो वा आलोचना गर्यो भनेर प्रतिवादन गर्दै हिड्न सक्छिन् । म कामबाटै प्रतिवाद गरेर जाने हो । काम गरेर देखाएपछि सबैखाले भ्रमहरु आफै झुट सावित हुनेछन् ।

नगरको सभाहलमा आयोजित सार्वनजिक सुनुवाईमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागीहरुले जिज्ञासा राखेका थिए । सहभागीहरुले सुकुम्बासी, भूमिहीनहरुले धनीपुर्जा नपाएको, बजेटलाई छरेर वितरण गरेको, स्वास्थ्य संस्थाले सेवाग्राहीहरुलाई चित्त बुझ्दो सेवा प्रदान गर्न नसकेको, विकास निर्माणमा विभेद गरेको, खेलकुद क्षेत्रमा पर्याप्त बजेट व्यवस्थापन नगरेको लगायतका सवालहरु उठाएका थिए ।

नगरले दमकल खरिद गर्नुपर्ने, फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने, सबै किसानले राहत पाउनुपर्ने, सडक वत्ति बल्न छोडेको र लगानी खेह्र गएको, दलहरुसँग सहकार्य नगरेको लगायतका जिज्ञासा एवम् सूझाव राखेका थिए । कतिपय सहभागीहरुले माइमेलालाई नीतिगत रुपमा सुधार गरेर जानुपर्ने धारणा राखेका थिए । माइमेलामा कडाई नगरे मेला नै संरक्षण गर्न नसकिने चिन्ता समेत व्यक्त गरेका थिए ।

स्थानीय तहले चौमासिक रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने भएपनि सात बर्षपछि कनकाईमा पहिलो पटक कार्यक्रम भएको भन्दै नेपाली कांग्रेस कनकाई नगर सचिव रेनुप्रसाद कडेलले प्रश्न गरेका थिए । उनले सहज रुपमा पालिकाबाट सूचना उपलब्ध नहुने भन्दै गुनासो समेत राखे । सन्तोष सुस्केराले एउटै बिषयमा दुई वटा शिर्षकमा बजेट बाँडिनुको कारण माग गरेका थिए । उनले बजेट छरिँदा नगरबासी खुसी भएपनि त्यसको उपलब्धि माथि प्रश्न उठेको बताए । चन्द्रप्रसाद घिमिरेले लक्षित किसानले राहत नपाएको भन्दै गुनासो गरे । दिननाथ खतिवडाले सडक बत्तीको मर्मत नभएको र नगरको पैसा दुरुपयोग भएको भन्दै नगरका बिषयमा अनेकन नकारात्मक टिप्पणी आइरहेकोमा चिन्ता व्यक्त गरेका थिए ।

सुर्तीजन्य पदार्थ बिक्री तथा उपभोग निषेधित क्षेत्रको रुपमा सम्मानित नगरमा यत्रतत्र त्यस्ता वस्तुको बिक्री भैरहेको भन्दै अनुगमन र नियन्त्रणमा नगरपालिकाको भुमिका के हुने भन्दै रमेशप्रसाद मैनालीले जिज्ञासा राखे । उनले कर्मचारीले सरकारी मोटरसाइकको दुरुपयोग गरेको लगायतका सवाल उठाएका थिए ।

कार्यक्रममा आएका प्रश्न तथा जिज्ञासाका बिषयमा नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, विभिन्न शाखाका प्रमुखहरुले जवाफ दिए ।

सूर्योदय टेलिभिजनले सहजीकरण गरेको कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेकी थिइन । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले नगरको हालसम्मको गतिविधि बारे जानकारी गराएका थिए । कार्यक्रम टेलिभिजनका उमाकान्त खनाल र केशव भण्डारीले संचालन गरेका थिए ।

प्रकाशित मिति : माघ १६, २०८० मंगलबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]