बैशाख २४, २०८१ सोमबार

अर्जुनधाराका मेयर गोम्देन कोरियाको कृषि तथा पशुपालन क्षेत्रको अवलोकनमा

बिर्तामोड । दक्षिण कोरिया भ्रमणमा रहेका झापा अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देनले आज टमाटर उत्पादन क्षेत्रको अवलोकन गरेका छन् । अर्जुनधाराका प्रेस संयोजक नन्दलाल खतिवडाले टमाटर उत्पादनको क्षेत्रमा अवलोकन गरिएको जानकारी दिए ।

कृषि तथा पशुपालनको अध्ययनका लागि कोरिया पुगेको टोलीले तरकारी खेती, बंगुर पालन लगायतको अवलोकन गरिसकेको छ । कृषि, पशुपालनको अध्ययन गरेर स्थानीय तहमा विकासको योजना बनाउने उद्देश्य रहेको खतिवाडाले जानकारी दिए ।

कोरियामा टमाटर उत्पादन लागि गरिएको प्रविधिको प्रयोग र बजारिकरण लगायतको अवलोकनका क्रममा जानकारी लिएको खतिवडाले जानकारी दिए । उनका अनुसार ग्रिनरी प्रविधिको प्रयोगबाट त्यहाँ टमाटर उत्पादन भइरहेको छ । एक पटक विरुवा रोपेपछि त्यसले एक वर्षसम्म उत्पादन दिइरहने अवलोकनका क्रममा जानकारी गराइएको थियो । मेयर गोम्देनसहितको भ्रमण टोलीले कोरियाको प्रविधि र विजको बारेमा जानकारी लिएको छ ।

मेयर गोम्देनले उन्नत जातको टमाटरको विज नेपाल भित्राएर टमाटर उत्पादनलाई वृद्धि गरिने बताएका छन् । उनले कोरियाली प्रविधिले कृषि उत्पादनमा ठुलो सहयोग पुगेको अवलोकनका क्रममा देखिएको बताए । टोलीले च्याउ उत्पादन क्षेत्रको समेत अवलोकन गरिसकेको छ ।

यस्तै, बंगुरको फर्म अवलोकन गरेको टोलीले जनाएको छ । बंगुरको पिसावबाट ग्यास उत्पादन गरिएको टोलीले प्रत्यक्ष रुपमा हेरेको बताइएको छ ।

माघ १४ गते कोरिया पुगेको टोली २४ गतेसम्म कृषि तथा पशुपालनको क्षेत्रमा अवलोकन गरेर फर्किनेछ ।

प्रकाशित मिति : माघ १८, २०८० बिहीबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]