बैशाख २५, २०८१ मंगलबार

पत्रकार खरेलसहित चार प्रतिभालाई जनही ५१ हजारको पुरस्कार

कनकाई । प्रेस चौतारी झापाका सल्लाहकार एवम् पत्रकार तीर्थराज खरेल पुरस्कृत भएका छन् । कनकाई नगरपालिका–६ मा रहेको चिरञ्जीवी–ईश्वरादेवी उप्रेती अक्षयकोषबाट नगद ५१ हजारसहित खरेल पुरस्कृत भएका हुन् ।

कनकाई–३ सुरुङ्गा निवासी खरेल २०५९ सालदेखि लेखन तथा पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । स्थानीय युनिक बहुमुखी क्याम्पस र कन्काई माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषय शिक्षकको रूपमा क्रियाशील खरेलले शिक्षण र पत्रकारितालाई सँगसँगै अघि बढाइरहेका छन् । सकारात्मक सोचका साथ कलम चलाउँदै समाज रूपान्तरणमा खेलेको भूमिकाप्रति उच्च मुल्यांकन गर्दै अक्षयकोषबाट खरेललाई सम्मान गरेको पुरस्कृत व्यक्तित्व छनौट समितिका संयोजक चन्द्रमोहन उप्रेतीले जानकारी दिए ।

सञ्चार क्षेत्रबाट पुरस्कृत खरेलले पत्रकारिता क्षेत्रमा रहेर लामो समयसम्म अनवरत रुपमा सेवा पु¥याएको र लोकतन्त्र स्थापनामा खेलेको भूमिकालाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको कोषका अध्यक्ष एकराज उप्रेतीले बताए । अक्षयकोष स्थापनाको उद्देश्यमाथि प्रकाश पार्दै कोषका अध्यक्ष उप्रेतीले हरेक वर्ष भवानी–हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको साधारणसभाका दिन पुरस्कार वितरण गरिने जानकारी दिए ।

खरेलसँगै कनकाई मावि सुरुङ्गाबाट कक्षा १२ मा सर्वोच्च अंक ल्याउने छात्र सम्रेश भेट्वाल, नगरका एक जना उत्कृष्ट कृषक कनकाई –७ निवासी नरहरि शिवाकोटी र उत्कृष्ट बुहारीका रुपमा कनकाई –६ निवासी तारा रिजाल खतिवडा सम्मानित भएका छन् ।

भवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिरञ्जीवी उप्रेतीको सभापतित्व एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको संस्थाको सातौं वार्षिक साधारणसभाको अवसरमा पत्रकार सहित चारवटा विधामा सम्मान गरिएको हो । सम्मानित सबै जनालाई संस्थाका अध्यक्ष उप्रेतीसहित नगर प्रमुख पोखरेलले जनही ५१ हजार नगद सहित दोसल्ला ओढाएर सम्मान पत्रसहित विशेष सम्मान गरेका हुन् ।

भवानी–हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उप्रेतीसहितको परिवारले स्थापना गरेको कोषको ब्याजबाट उनीहरुलाई पुरस्कृत गरिएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै कोषका संरक्षक चिरञ्जीवी उप्रेतीले भिन्नाभिन्नै चार वटा विधामा पुरस्कार स्थापना गरेको र फरक–फरक विधाका व्यक्तिलाई सम्मान गरिएको बताएका छन् ।

साधारणमा सभामा अध्यक्ष उप्रेतीले आगामी योजना सहितको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भरतकुमार थपलियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । त्यस्तै लेखा समितिका संयोजक शम्भुप्रसाद पोखरेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । तीन वटै प्रतिवेदन बन्द सत्रमा भएको व्यापक छलफलपछि संशोधन सहित सर्वसम्मत रुपमा पारित भएको जनाइएको छ ।

संस्थाका सचिव जीवनकुमार श्रेष्ठ र सहसचिव अनुप ओलीले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख, कनकाई वडा नं.८ का वडाअध्यक्ष लीलावहादुर कटुवाल, सम्मानित व्यक्तित्व तीर्थराज खरेल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : माघ २०, २०८० शनिबार  ७ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]