बैशाख १३, २०८१ बिहीबार

कनकाई क्याम्पस सुरुङ्गाका अध्यक्ष र प्रमुख विरुद्ध उजुरी

बिर्तामोड । प्रदेश सांसद हिरा थापाले आइतवार कनकाई बहुमुखी क्याम्पस सुरुङाका अध्यक्ष प्रकाश चुडाल र क्याम्पस प्रमुख विकास उप्रेती विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा कारवाहीको माग गर्दै उजुरी दिएका छन् ।


क्याम्पसमा शनिवार भएको क्याम्पससभामा सांसद् थापामाथि अभद्र व्यवहार भएको थियो । उनी कनकाई क्याम्पस सुरुङाका क्याम्पससभा अध्यक्ष समेत हुन् । सभाको अन्तिम समयमा उनीमाथि आक्रमण प्रयास भएको थियो ।

केहि महिनादेखि विवाद भइरहेको कनकाई बहुमुखी क्याम्पस सुरुङामा विवाद समाधानसँगै नियमित प्रक्रिया अनुसार सभा आयोजना गरिएको थियो । सो सभाले विधान बमोजिम गरेका निर्णय हलमा सुनाउँदै गर्दा क्याम्पस प्रमुख उप्रेती र अध्यक्ष चुडालले माइन्यूट र विधान खोसेर च्यातेको थापाले जानकारी दिए ।

‘ममाथि आक्रमण नै गर्ने गरी व्यवहार देखाइएको थियो’ थापाले भने – त्यो संभव भएन । ठुलो दुर्घटनाबाट बचे । दिनभर भएको सभाले विधान विपरित भएको सञ्चालक समिति सदस्यको मनोनयन, प्राध्यापक र कर्मचारी निष्काशनको निर्णय बदर गरेको थियो । सो निर्णय लेखिएको माइन्यूट पढेर सुनाउने क्रममा खोसेर च्यात्ने काम भयो, सांसद् थापाले भने ।

विवादित क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुडाल अवैधानिक भएको निर्णय भएपछि चुडाल समर्थकले सांसद् थापामाथि आक्रमण प्रयास गरेको बताइएको छ ।


कनकाई बहुमुखी क्याम्पसमा केहि महिनादेखि प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निकालेपछि विवाद सुरु भएको थियो । झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने अख्तियारी पाएको थियो ।

सोहि सहमतिपछि क्याम्पसको विवाद समाधान उन्मुख थियो । तर, क्याम्पससभाको अप्रिय घटनाले क्याम्पसलाई थप समस्यातर्फ धकेलेको स्थानीय सरोकारवाला बताएका छन् ।


शनिवारको घटनालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले भत्सर्ना गरेका छन् । हामीले अहिलेसम्म विधिसम्मत जाउ भनेर पर्खियौ, सिडियो कार्यालयमा भएको सहमति अनुसार क्याम्पससभा बोलाएकोमा बहुमत क्याम्पससभाका सदस्यहरुको निर्णय सुनाउने क्रममा हुलहुज्जत गर्दै माइन्युट खोस्ने र माननीय माथिको आक्रमणको घोर भत्सर्ना गर्दछौ– अध्यक्ष लम्सालले भने ।


अध्यक्ष चुडालले सभाको एजेण्डा विपरित सांसद् थापाले निर्णय सुनाएपछि घेराउमा मात्रै परेको इजलाससँगको कुराकानीमा बताएका छन् । क्याम्पससभाका सदस्यहरुको भावना विपरित समिति नै अवैधानिक गरेको निर्णय सुनाएपछि तछाडमछाड–खोसाखोस भएपछि अभद्र व्यवहार र आक्रमणको प्रयास नभएको चुडालले दावी गरेका छन् । उनले भने, जेजे कुराहरु बाहिर आएका छन् । ति सबै आरोप मात्र हुन् ।

प्रकाशित मिति : पुष १४, २०७६ सोमबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]