जेष्ठ ३, २०८१ बिहीबार

स्टार्टप उद्यम कर्जाले थपेको उत्साह

सम्पादकीय
पुँजी अभावले तनाव झलिरहेका युवाहरुलाई स्टार्टप उद्यम कर्जा सम्झौता भएको खवरले उत्साहित बनाएको छ । ससानो उद्यमका लागि पनि पुँजी अभावको समस्या व्यहोर्ने युवाहरु धमाधम देश छोडिरहेका छन् । स्थानीयस्तरमा काम गर्ने योजना बनाएका युवाहरुलाई पुँजीको सहयोग प्राप्त हुन सक्दैन । तर, वैदेशिक रोजगारीमा जानेहरुका लागि भने पुँजी व्यवस्थापनमा ठुलो कठिनाई देखिदैन । अब, यो सम्झौताले पुँजीको समस्यालाई केहि हद मात्रामा समाधान गर्ने निश्चित छ । यो कार्यक्रमलाई लक्षित वर्गसम्म पुराउन प्रभावकारी कार्यान्वयन पनि उत्तिकै अपरिहार्य छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा राष्ट्रिय वाणिज्य बैंकले स्टार्टप कर्जा दिने सम्झौता भएको छ । प्रतिफल दिने परियोजनामा लगानी गरेर कार्यक्रमलाई सफल बनाउन सकियो भने यसलाई निरन्तरता दिन सकिन्छ । त्यसकालागि प्रतिफल प्राप्त गर्न सकनिे क्षेत्रमा लगानी गर्नुपर्छ । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने लक्ष्यसहित ‘स्टार्टप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८०’ जारी भएको छ । सम्झौतापछि यो प्रक्रिया अघि बढिसकेको छ । सम्झौताअनुसार बैंकले कर्जाको साँवा ब्याज दाबी भुक्तानी माग गर्दा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट भुक्तानी प्राप्त गर्नेछ । कुनै उद्यमीले किस्ता अवधिअगावै कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन ।

उक्त कार्यक्रममा तोकिएको भाखाभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा त्यस्ता उद्यमीलाई खराब कर्जामा गणना गरी चुक्ता गर्न बाँकी रकम असुलउपर गर्न गर्ने उल्लेख छ । स्टार्टप उद्यम कर्जा माघ २४ गतेबाट लागु भईसकेको छ । कम्पनी दर्ता भएको सात वर्षभन्दा बढी समय नभएका स्टार्टप उद्यम कर्जा पाउनका लागि योग्य हुने कार्यविधिमा उल्लेख छ । कुल चुक्ता पुँजी दुई लाखदेखि १० लाख रूपैयाँसम्म भएको, उद्यमको कुल कारोबार वार्षिक दुई करोड रूपैयाँभन्दा बढी नरहेको र स्थिर पुँजी (घरजग्गाको बाहेक) दुई करोड रूपैयाँभन्दा बढी नभएको हुनुपर्ने स्पष्ट रुपमा उल्लेख छ । स्टार्टप उद्यमका लागि विभिन्न १६ वटा क्षेत्र तोकिएका छन् । कृषि तथा पशुपक्षी, वन पैदावार, पर्यटन प्रवद्र्धन, मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, सूचना प्रविधि तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइलगायत क्षेत्र छन् । सहज र सुरक्षित यातायात एवं पारबहन, अटोमोबाइल्स, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधार, खानी तथा खनिज अनुसन्धान, घरायसी वा दैनिक जीवनयापनसँग जोडिएका क्षेत्रमा पनि स्टार्टप कर्जा उपलब्ध गराइने सम्झौता भएको छ । खाद्य उत्पादन तथा प्रशोधन, फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, वैकल्पिक तथा नवीकरणीय ऊर्जा र जलवायु परिवर्तन न्यूनीकरणसँग सम्बन्धित क्षेत्रमा पनि उद्यमशीलता कर्जा पाइनेछ । यसलाई स्वरोजगार कोषको लगानी जस्तो नबनाऔं । कार्यक्रमलाई पारदर्शी र सफल बनाऔं ।

प्रकाशित मिति : माघ २६, २०८० शुक्रबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]