बैशाख २५, २०८१ मंगलबार

हिकोला-घरधनीबीच लफडाको अन्तर्य

ज्यान मार्ने प्रयास भयो : होटल सञ्चालक

बिर्तामोड । झापाको बिर्तामोडस्थित हिकोला हेरिटेजका सञ्चालक देविभक्त श्रेष्ठका छोरा गौरव श्रेष्ठले काँकडभिट्टामा सञ्चालन गरिरहेको होटलमा स्थानीय केहि युवाहरुको हुलहुज्जतले ज्यान मार्ने प्रयास गरेको आरोप लगाएका छन् । सोही अनुसार आफुमाथि आक्रमण भएको आरोप लगाए । होटलको वार्षिकोत्सवको अवसरमा आयोजना गर्न लागेको कार्यक्रमको अघिल्लो दिन स्थानीय युवाहरुले आक्रमण गरेको उनको दावी छ ।

माघ २५ गते काँकडभिट्टास्थित होटलमा गौरवलाई स्थानीय केहि युवाहरुले कुटपिट गर्दै होटलबाट बाहिर निकालेको सीसी टिभी फुटेजमा देखिन्छ । कुटपिटबाट उनको शरीरमा चोट समेत लागेको छ । होटल सञ्चालकमाथि कुटपिट भएपछि उनीहरुले प्रहरी प्रशासनमा न्यायका लागि माग गर्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । जिल्ला प्रशसनले उनीहरुलाई मेचीनगरपालिका पठाएको थियो ।

२६ गतेको छलफल अनुसार होटल सञ्चालक श्रेष्ठ आज काँकडभिट्टा होटल पुगेका थिए । उनले बताए अनुसार आज पनि आफुमाथि दुव्र्यवहार भएको छ । मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेम प्रसाईकै अगुवाईमा दुव्र्यवहार भएको गौरवको आरोप छ । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै सञ्चालकहरुले काँकडभिट्टामा भएको घटनाको भिडियो नै सार्वजनिक गरेर देखाएका छन् । भिडियोमा गौरवमाथि कुटपिट तथा दुव्र्यवहार भएको देखिन्छ ।

आफ्नै होटलको बोर्ड समेत हटाएर न्यू हिकोला लेख्ने काम भएको उनीहरुको भनाई छ । होटल नै घरधनीसहितको समूहले हडप्ने योजना बनाएको सञ्चालक श्रेष्ठको आरोप छ । उनले सम्झौता अनुसार १२ वर्ष अझै होटल चलाउन पाउने दावी गरेका छन् । घरधनीबाट उल्टै करोडौ रुपैयाँ पाउनुपर्ने दावी गर्दै आएका सञ्चालक देविभक्त श्रेष्ठले भाडा बुझाउन बाँकी समेत नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले हिसाव गर्दा बुझाउनुपर्ने देखिए तत्कालै बुझाउन पनि तयार रहेको स्पष्ट पारेका छन् ।

विदेश छोडेर नेपालमा व्यवसायका लागि आएको बताउने छोरा गौरवले व्यवसायका लागि वातावरण ठिक नभएको बताए । उनले काँकडभिट्टाको घटनापछि आफ्नो परिवार समेत सुरक्षित जोखिम बढेको बताएका छन् । उनले परिवारको सुरक्षा समेत मागेका छन् ।

घर हडप्ने प्रयास भयो : घरधनी
हिकोलामा भएको घटना घरभाडासँग जोडिएको छ । घरभाडा नपाएपछि सञ्चालक श्रेष्ठलाई भाडा दिन वा घर खाली गर्न काँकडभिट्टाका घरधनी पशुपति दाहालले डेढ वर्षदेखि आग्रह गरेका थिए । पटक–पटक घर खाली गर्न भन्दा नटेरेपछि यो घटना भएको घरधनी स्वीकार गर्छन् । उनले आफुमाथि अन्याय भएपछि गाउँलेले सहयोग गरेको बताए ।
घरधनी दाहालका अनुसार श्रेष्ठले तीन वर्षदेखि भाडा दिएका छैनन् । उनले ७३ लाख ५० हजार भाडा पाउनुपर्ने बताए । घर नेपाल बैंकले लिलामी गर्ने भनेपछि आफुले होटल सञ्चालकलाई ताकेता गरेको बताउँछन् । दाहाल भन्छन्, घर लिलामी हुन लाग्यो, भाडा दिनुस् भन्दा लिलामी भए म सकार्छु भनेपछि हडप्ने प्रपञ्च देखे । घर हडपिने डरले इप्रका, वाणिज्य संघ, जिल्ला प्रशासन, न्यायिक समितिमा उजुरी गरेको उनको भनाई छ ।

दाहालले श्रेष्ठको बिर्तामोडस्थित घरमै पुगेर भाडाको कुरा गर्दा कृटपिट गर्ने धाकधम्की दिएको सुनाए । आफ्नो घरमा भाडा नपाएपछि गुहार मागेको घरबेटी दाहालको भनाई छ । उनले २५ गतेको घटना श्रेष्ठकै कारण निम्तिएको बताउँछन् ।

घरवेटीलाई दोस्रो पक्ष बनाएर सम्झौता गरेको घरको विवाद बारे पटक–पटक नगरपालिकामा छलफल भएको थियो । छलफलमा पत्र काटेर बोलाउदा समेत श्रेष्ठ सहभागी नभएपछि स्थानीय आक्रोसित भएको उनको भनाई छ । यता, नगरको सहमति अनुसार जिल्ला प्रशासनको प्रतिनिधिसहित होटलको मुल्याङकन गरिएको छ । होटलको १ करोड २० लाख मुल्याङकन गरिएको छ, उनले भने – मैले पाउनुपर्ने पैसा कटाएर बाँकी उपलब्ध गराइदिन्छु ।

होटल सुरु नभई विवाद

काँकडभिट्टामा भएको घटनाबारे त्यहाँका सबै स्थानीय अगुवाहरु जानकार रहेका छन् । पत्रकार सम्मेलनपछि घरधनीका छिमेकीसँग भएको कुराकानीमा भने,– यो विवाद नयाँ होइन, केहि वर्षदेखीको विवाद हो । २५ गतेको घटनाले मात्रै विवाद बाहिर ल्याएको छ ।

स्थानीय जानकारहरु भन्छन् – घरधनी र होटल सञ्चालकबीच होटल सुरु हुनु अघिदेखि लफडा थियो । सुरुवाटै लफडा हुँदैहुँदै आएपछि अहिले बाहिर छताछुल्ल मात्र भएको हो । ०७६ मा २६ गते देखि सुरु भएको होटलमा पहिलो चरणको सम्झौता नै किर्ते भएपछि घरधनीहरु सशंकित भएका थिए । काँकडभिट्टामा होटल सुरु गरेपछि विभिन्न चरणमा विभिन्न क्षेत्रमा दर्जनौ पटक मुद्धा मामिला भइसकेको छ ।

प्रकाशित मिति : माघ २८, २०८० आईतबार  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]