बैशाख २१, २०८१ शुक्रबार

अर्जुनधारा संस्कृत आदर्श माविको वार्षिकोत्सवमा पुरस्कार वितरण

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ७ स्थित अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको ३२ औं बार्षिकोत्सव तथा साबित्रादेवी प्रसाई स्मृति अक्षयकोष छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । विद्यालयद्वारा आयोजित समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्निप्रसाद सिग्देलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अक्षयकोष दाता देवकला प्रसाईले विद्यालयका १० जना जेहेन्दार बिद्यार्थीहरु विपना पाँचकोटी, अञ्जना खातुन ,सोफिया धमला ,सवु सुनाम,प्रियङका मण्डल ,पूजा दनुवार ,देवीमाया श्रेष्ठ ,नविन पौडेल ,कृजल नेपाल र सौगात सापकोटालाई प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ दरले छात्रवृत्ति पुरस्कार वितरण गरिन् ।

सो अवसरमा संस्कृत श्लोकान्तक्षरी ( संस्कृत श्लोक वाचन ) र तौल अनुमान प्रतियोगिताको आयोजना गरिएको थियो । संस्कृत श्लोक वाचन प्रतियोगितामा प्रथम हुने समूहका विद्यार्थीहरु निश्चल खतिवडा, गजेन्द्र अधिकारी, प्रकाश भट्टराई र कृश्चल नेपाल, द्वितीय समूहका समुन खनाल, सोहम पोख्रेल, कृजल नेपाल र समिर सापकोटा, तृतीय समूहका सौगात सापकोटा ,सकृश निरौला , समर्पण अधिकारी र माधव काफ्ले रहेको निर्णायक हेमन्त भण्डारीले जानकारी दिए ।

प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रमाणपत्र र जिन्सी पुरस्कार प्रदान गरिएको प्रतियोगिता संचालक हरिप्रसाद ढुंगेलले जानकारी दिए । तौल अनुमान प्रतियोगितामा दाता प्रसाईले ८३० ग्राम तौलमा ८०० ग्राम अनुमान गरि पुरस्कार जितेकी थिइन् । प्रतियोगितामा विद्यार्थी बाहेक १५ जना भन्दा बढीले अनुमान गरेका थिए । कार्यक्रममा बर्ष उत्कृष्ट शिक्षक रुपमा विद्यालयका शिक्षिका गीता अधिकारीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । दर्शकबीच सम्मानित अधिकारीले यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ भन्ने गीतको बोलमा रमाइलो नृत्य प्रस्तुत गरिन् ।

त्यसैबीच विद्यालयका विद्यार्थीहरु सुस्मिता मण्डल, देवीमाया श्रेष्ठ, प्रियंका मण्डल लगायतले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सबल आचार्य, पूजा दनुवार लगायतले नृत्य प्रस्तुत गरेका थिए भने रितेस सापकोटाले गीत प्रस्तुत कृजल नेपाल र शिक्षक दशरथ रिजालले कविता वाचन गरेका थिए । समारोहमा खेलकुदतर्फ पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान थियो । यसअघि खेलकुद फागुन १ ,२ र ३ गते स्थानीय अर्जुनधारा खेलमैदानमा छात्र –छात्रा १००.२०० र ४०० दौड ,लङजम्प सटफुट, चक्लेट दौड र कवडडी लगायत प्रतियोगिता सम्पन्न गरिएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल गुरागाईको सभापतित्व र सहायक प्रधानाध्यापक हरिनारायण खतिवडाले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि सिग्देलले गुरुकुल बचाउन सके मात्र संस्कृत विद्यालयहरु बच्ने बताए । दाता प्रसाईले संस्कार बिनाको शिक्षा काम नलाग्ने तर शिक्षा बिनाको संस्कार काम लाग्ने बताइन् । अर्जुनधारा बेद विद्यापीठका प्राचार्य हेमन्त भण्डारीले संस्कृत भाषा जगेर्ना गर्नुपर्नेमा जोड दिए । देवनागरी संस्कृत भाषाले भावी सन्ततिहरुको सुन्दर भविष्य बन्ने उनले बताए । कार्यक्रममा अर्जुनधारा नगरपालिका – ७ का वडा सदस्य पार्वता भट्टराई , शिक्षिका सविता पौडेल खनाल, पूर्व शिक्षक भोला पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन ५, २०८० शनिबार  ४ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]