चन्द्र मौलेश्वर धाममा मार्कण्डेय महापुराण सुरु
भद्रपुर । महाशिवरात्रिको अवसरमा झापाको भद्रपुर–४, लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तीर्थधाममा मार्कण्डेय महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
धाममा अक्षय कोष अभिवृद्धि एवम् राधा–कृष्ण मन्दिर निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको मार्कण्डेय महापुराणको कथा वाचन शनिवारदेखि सुरु भएको हो । शुक्रबार कलश यात्रा तथा महापुराण उद्घाटन भएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले महापुराणको उद्घाटन गरेका थिए ।
झापाको शङ्कराचार्य पीठ साधुटारधामका व्यासाचार्य पं लक्ष्मीप्रसाद खतिवडा प्रमुख वाचक तथा पं अभिनारायण कट्टेल उपवाचक रहेको महायज्ञ फागुन २६ गते समापन हुने महायक्ष आयोजक समितिका अध्यक्ष कपिलमणि पोखरेलले जानकारी दिए । महायज्ञमा प्रत्येक दिन प्रातःकालीन मण्डप पूजन, आरती, पाठ, बिहान ११ देखि दिउँसो ३ बजेसम्म कथा वाचन, साँझ दीप प्रज्वलन एवम् ७ बजेदेखि ९ बजेसम्म माहात्म्य प्रवचन र सङ्गीतमय भजन–कीर्तन हुने धाम व्यवस्थापन समितिका अध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए ।
महायज्ञमा लोकप्रिय भजन गायिका सीताकिशोर ढुंगानाबाट सुमधुर भजनहरू प्रस्तुत भइरहेको पुराण आयोजक समितिका उपाध्यक्ष बमबहादुर कोइरालाले बताए ।महायज्ञमा दान गर्ने दाताहरूलाई व्यासाचार्य गुरुबाट सम्मान गरिने पनि बताउँदै धामका अध्यक्ष अधिकारीले सबै धर्मप्रेमीहरुलाई कथा श्रवण गरी पुण्यलाभ लिन अनुरोध गरेका छन् ।