चैत्र ६, २०८० मंगलबार

विभेद विरुद्ध गैरदलित उभिनुपर्छ : दलित नेता


काँकरभिट्टा । मेचीनगर नगरपालिकाले छुवाछूत विरुद्ध पदयात्रा गरेका तीन जना अभियान्तालाई सम्मान गरेको छ । महाकालीको चाँदनी दोधारबाट चैत ३ गते शुरु गरिएको पदयात्रा ५४ दिनपछि काँकरभिट्टामा सकिएको थियो ।
नेपाल पदयात्रा २०१९ का तीन जना पदयात्री समाजशास्त्री हेमराज आचार्य, पत्रकार अशोक दर्नाल र सामाजिक अभियान्ता रिता परियारलाई पदयात्रा समापनको अवसरमा मेचीनगर नगरपालिकाले आइतवार सम्मान गरेको हो ।

सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै अधिकांश वक्ताले दलितका लागि संविधान आएपनि व्यवहारमा परिवर्तन नआएको बताएका छन् । उनीहरुले छुवाछूत अन्त्यका लागि गैर दलित समुदाय नै सचेत हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तिलक परियारले मुलुक बदलिएर मात्र नहुने बताएका छन् ।

उनले देशको ठुलो हिस्सा ओगट्ने दलित समुदाय उत्पीडनमा रहेको बताउँदै समृद्ध राष्ट्र निर्माणको लागि विभेद अन्त्य हुनुपर्ने धारणा राखे । यस्तै पूर्व मन्त्री मिन विश्वकर्माले दलितको योगदान सबैले भुलेको आरोप लगाएका छन् । उनले दलित समुदायले अधिकार पाएपनि जानकारी नपाएको जीकिर गरे ।

अर्का पूर्वमन्त्री एवम् दलित नेता जीतु गौतम दलित समुदायको लागि उपलब्धी हासिल भएपनि विभेद जस्तो जघन्य अपराध अझै अन्त्य हुन नसकेको विचार राखेका छन् । सो कार्यक्रममा दलित अधिकारकर्मी गणेश विक, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगरपालिकाका प्रमुख विमल आचार्य लगायतले विभेद विरुद्ध सम्बोधन गरेको कार्यपालिका सदस्य एवम् कार्यक्रम आयोजक समितिका टिकाराम मंग्रातीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार  ९ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]