बैशाख १६, २०८१ आईतबार

अलैँची ‘ग्रेडिङ मेसिन’को परीक्षण

बिर्तामोड । झापाको बिर्तामोडमा अलैँची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ । स्थानीयस्तरमा निर्माण गरिएको उक्त मेसिनको अलैँची व्यवसायी महासंघ कार्यालय परिसरमा बुधबार परीक्षण गरिएको हो ।

स्वीस सरकारद्वार सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इञ्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ । एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीयस्तरमा पाइने सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताए ।

मेसिन परीक्षणका क्रममा रहेकाले अझै परिमार्जित गरिने उनले बताए । “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौँ”, उनले भने “एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार पर्दछ ।”

उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताए । “हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौँ”, उनले भने, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”

मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैँची ग्रेडिङको काम हुने अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताए । “अहिले हाते जालीबाट अलैँची ग्रेडिङको काम भइरहेको छ”, उनले भने, “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”

केही व्यवसायीले भारतबाट मेसिन खरिद गरेर ग्रेडिङ गरिरहेका भट्टराईले बताए । “भारतबाट ल्याइने मेसिन महँगो पर्दछ । एउटाको करिब १० लाख पर्छ”, उनले भने, “अहिले परीक्षण गरिएको मेसिन ५० हजारमा पाइने भनिएको छ । यसले किसान र व्यवसायलाई सहज हुनेछ ।” मेसिनबाट तीन प्रकारका अलैँची ग्रेडिङ हुन्छ । जम्बो जेट (जेजे), सुपर डिलक्स र चलनचल्तीको गरी तीन आकारका अलँैंचीको दाना ग्रेडिङ हुने जनाइएको छ ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  १० : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]