बैशाख १६, २०८१ आईतबार

विदेश पलायन रोक्न दूधमा अनुदान

गल्याङ (स्याङ्जा), १ चैत : किसानलाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले दूधमा प्रतिलिटर रु १० अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०-८१ को विनियोजित बजेटमार्फत ‘दूधमा आत्मनिर्भर तथा गाईभैँसी प्रवर्द्धन कार्यक्रम’अन्तर्गत नगरपालिकाले दूधमा अनुदान दिने भएको हो ।

नगरपालिकाका प्रमुख कृष्ण खाणले अकला नमूना कृषि सहकारी संस्थासँगको सहकार्यमा योजना सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार अकला नमूना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पासबुकमा भएको विवरणका आधारमा नगरपालिकाले प्रतिलिटर दूधमा अनुदान उपलब्ध गराउनेछ ।

सहकारीले सम्झौताअनुसार दैविक प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा तीन सय ५० दिन किसानको दूध खरिद गर्नुपर्ने छ । सहकारी संस्थाले महिनाको दुईपटक सङ्कलित दूधको विवरण नगरपालिकालाई उपलब्ध गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

“दूधको मूल्य नेपाल सरकारले तोकेको ल्याक्टोफ्याट र एसएनएफको आधारमा निर्धारण हुने छ, त्यसबाहेक नगरपालिकाले किसानलाई प्रतिलिटर रु १० उपलब्ध गराउने छ”, नगरप्रमुख खाणले भन्नुभयो, “नगरलाई दूधमा आत्मनिर्भर बनाउन र उत्पादनका आधारमा अनुदान दिएर किसानको उत्साह बढाउन हामीले यस्तो कार्यक्रम ल्याएका हौँ ।”

उहाँले दूधमा अनुदान कार्यक्रमले युवा पुस्तामा विदेशप्रतिको मोह घटाएर कृषि फार्म सञ्चालन गर्न उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाईपालक किसानलाई अधिकतम रु ५० हजारसम्म अनुदान दिने जानकारी दिनुभयो ।

“विदेश पलायन रोक्न र विदेशबाट फर्केका युवालाई पशुपालनमा आकर्षित गर्न नगरपालिकाले बजार व्यवस्थापनको पनि ग्यारेन्टी लिन्छ”, खाणले भन्नुभयो, “पशु बीमा र सडक व्यवस्थापनको जिम्मा पनि नगरपालिकाले लिने प्रतिबद्धता व्यक्त गर्दछु, तसर्थ पशुपालनमै लाग्न सबै युवालाई अनुरोध छ ।”

अकला नमूना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्यप्रसाद अर्यालले किसानलाई सजिलो हुने तरिकाबाट सहकारीले दूध सङ्कलनको काम गर्ने बताउनुभयो । उहाँले वालिङ–१२ स्थित धनमुढा, १४ स्थित फौदिखोला र ४ स्थित एलादिमा दूध सङ्कलन केन्द्र राखेर काम गर्ने बताउनुभयो ।

सहकारी संस्थाले किसानले उत्पादन गरेको दूध सङ्कलन गरेर चिज बनाउने गरेको छ । यहाँ उत्पादित चिज, काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँमा निर्यात हुने गरेको छ । वालिङभित्र सात सय घरधुरीले दैनिकरूपमा करिब पाँच सय लिटर दूध उत्पादन गरेर बजारमा बिक्री गर्ने गरेको छ ।

प्रकाशित मिति : चैत्र १, २०८० बिहीबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]