बैशाख १८, २०८१ मंगलबार

बिर्तामोडका ३० हजार बालबालिकाले लगाए दादुरा रुवेला विरुद्धको खोप

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा फागुन २० गतेदेखि सञ्चालन भएको दादुरा रुवेला विरुद्धको खोप अभियान आजबाट सकिदैछ । अभियान सुरु भएदेखि चैत १ गतेसम्म ३० हजार ७ सय बालबालिकाले खोप लगाएका छन् ।

बिर्तामोड नगरपालिकाले नगर क्षेत्रभित्रका ३७ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । बिर्तामोड नगर अस्पतालका जनस्वास्थ्य निरीक्षक गणेश रिजालले अभियानकै क्रममा ३६ हजारको हाराहारीमा खोप लगाइने जानकारी दिए । आजसम्म खोप लगाउने अभियान चल्नेछ, रिजालले भने – छुटेका बालबालिकालाई केहि दिन नगर अस्पतालसहित वडाका स्वास्थ्य संस्थाहरुमा खोप सञ्चालन कार्यक्रम रहेको छ ।

९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइएको दादुरा रुवेला खोप अभियान बिर्तामोडमा ७४ वटा विद्यालयसहित सबै स्वास्थ्य संस्थाहरुबाट सञ्चालन गरिएको छ । खोप सम्बन्धी तालिम प्राप्त जनशक्तिहरुले अभियानमा खोप सञ्चालन गरेका थिए । अभियानमा महिला स्वयम् सेविका र शिक्षक कर्मचारीहरुले समेत सहयोग गरेका छन् ।

देशव्यापी अभियान अन्तर्गत झापा जिल्लामा गत फागुन १७ देखि चैत ४ गतेसम्म दादुरा रुबेला विरुद्धकोे खोप अभियान सञ्चालन गरिएको हो । झापामा यो वर्ष ५ बर्ष मुनिका ६९ हजार २ सय ९९ जना र ५ देखि १५ वर्ष उमेर समुहका २ लाख ४५ हजार १ सय ११ जनालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखिएको थियो ।
झापाका ९ सय ४७ वटा खोप केन्द्र मार्फत खोप कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए । उनका अनुसार ३ सय ९ जना स्वास्थ्यकर्मी र १७ सय १७ जना स्वास्थ्य स्वयमसेवीका खोप अभियानमा खटिएका छन् ।

झापामा पहिलो मात्राको खोप लगाएका ९८ प्रतिशत बालबालिकाले मात्रै दोस्रो मात्राको खोप लगाएको कार्यालयले जनाएको छ । कार्यालयले खोप पुरा नभएका सम्पूर्ण बालबालिकालाई खोप लगाउन आग्रह समेत गरेको थियो ।
जिल्लाको झापा गाउँपालिकामा केही समय अघि मात्रै ६ जना दादुराका रोगी फेला परेका थिए । उक्त समयमा बिर्तामोड र दमकमा समेत एक एक जनामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नेपालमा सन् २००३ बाट सुरु गरिएको अभियान अन्तर्गत सन् २०२६ सम्ममा पूर्णरुपमा दादुरा रुबेला मुक्त बनाउने लक्ष्य रहेको छ । यसअघि सन् २०१३ र २०२३ मा दादुरा रुबेला मुक्त बनाउने लक्ष्य राखिए पनि दुवै पटक अभियान सफल हुन सकेको थिएन् ।

प्रकाशित मिति : चैत्र २, २०८० शुक्रबार  ८ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]