बैशाख १८, २०८१ मंगलबार

नगरवासीले चाहेजस्तो स्वास्थ्य सेवा दिने योजना छ : मेयर

पवित्रा महतारा प्रसाई
नगर प्रमुख, बिर्तामोड नगरपालिका

बिर्तामोड नगर अस्पतालबाट सबै नागरिकलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउने चाहना छ । यहाँ उपलब्ध हुने गुणस्तरीय स्वास्थ्य सेवाबाट बिर्तामोडबासी नागरिक लाभान्वित हुन पाउनुपर्छ । सबै नागरिकहरु स्वास्थ्य उपचारको लागि निजी अस्पताल जान सक्ने अवस्था पनि छैन । नगर अस्पतालबाट आम नगरबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सकौं भन्ने मेरो सपना छ । स्थापनाको एक वर्षमा नगर अस्पतालको सेवाबाट नगर सरकार सन्तुष्ट छौं । त्यसैगरी सेवा पाउने लाभान्वित क्षेत्र पनि सन्तुष्ट नै रहेको पाइरहेका छौं । सामान्य सेवाहरुबाट सुरु भएको अस्पताल अहिले सेवा विस्तारको क्रममा छ । हामी जनप्रतिनिधिहरुको ध्यान नगर अस्पताल आउने नगरबासी उपचार गरेरमा कुनै कमी नहोस् भन्ने चाहन्छौं ।

विगतमा सिटामोल र आइरन चक्की मात्र वितरण हुने ठाउँलाई २४ घण्टा प्रसुति गराउने ठाउँमा आइसकेका छौं । गत साउन महिनाबाट सुरु भएको प्रसुति सेवाबाट सफलता मिलिरहेको छ । यस्तै, अन्य सेवाहरुलाई पनि विस्तार गर्दै स्वास्थ्य उपचारको भरपर्दो र विश्वासिलो संस्था बन्नेमा म ढुक्क छु । काम गर्दै जाँदा कतिपय कामहरुमा ढिलासुस्ती पनि भएका छन् । त्यसलाई पनि सुधार गरेर जाने अठोट लिएका छौं ।

आधारभुत उपचारहरुको कुनै पनि अभाव हुन नदिने गरी अस्पताल सञ्चालन भइरहेको छ । आधारभुत मात्र होइन, धेरै प्रकारका उपचार सेवा सुरु गर्न स्थानीय सरकार प्रतिवद्ध छ । सुरुवातको दिनमा भन्दा अहिले सेवा विस्तार जारी छ । सेवा विस्तारका लागि भौतिक पूर्वाधारको लागि भवन निर्माण चलिरहेको छ । त्यसै गरी जनशक्तिको व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिन आवश्यक देखेर त्यसको पनि व्यवस्थापन मिलाउन काम भइरहेको छ । विरामीहरु उपचार गर्न आइपुग्दा कुनै हिसावले कुनै कुराको अभाव नहोस् भनेर सम्पूर्ण टिम लागिरहेका छौं ।

भौतिक पूर्वाधारका हिसावले व्यवस्थित भइसकेपछि सबै प्रकारका सेवा प्रदान गर्न अवश्य सहज हुने छ । अहिले पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर र धरान घोपा नै जानुपर्ने बाध्यता छ । नगर अस्पतालमै पोष्टमार्टमका लागि पनि काम गर्ने सोच रहेको छ । अस्पताललाई सफल बनाउन सबै प्रकारका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने दायित्व छ । दायित्व पुरा गर्ने सवालमा प्रदेश सरकार र केन्द्र सरकार समेतको सहयोग लिने योजनामा छौं ।

यहाँ अस्पताल सञ्चालनका लागि धेरै चुनौतिहरु पनि छन् । काम गर्ने जनशक्तिले शान्तिपूर्ण, भयरहित भएर काम गर्ने वातावरणको खाँचो पर्छ । बेलाबखत स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई तर्साउने काम भइरहेको छ । म आग्रह गर्छु, यो नगरबासीको साझा अस्पताल हो । यसलाई उपचार गर्ने मुख्य अस्पतालको रुपमा विकास गर्दा सबैलाई हित हुनेछ ।

त्यस तर्फ सचेत नागरिकहरुले सोच्न आवश्यक छ । अस्पतालको सन्दर्भमा नकारात्मक टिकाटिप्पणी पनि सुन्ने गरेको छु । अस्पतालमा कुनै कमजोरी भएमा त्यसलाई सच्याएर लैजानुपर्छ । अस्पतालको सन्दर्भमा अफवाह फैल्याउने काम गर्न हुदैन । स्वास्थ्य संस्था भनेको संवेदनशिल क्षेत्र हो । यसको संवेदनशिलतालाई ख्याल गरेर अघि बढ्नुको विकल्प हामीसँग छैन । त्यसैले अस्पताललाई सफला बनाउन नगरबासीको भूमिका अझ धेरै हुन्छ ।

अस्पताल सञ्चालनको एक वर्षलाई मैले नजिकबाट नियालेको छु । एक वर्षलाई समीक्षा गर्दा अवश्यक सफलता हात पार्ने कुरामा म ढुक्क छु । अस्पताल सञ्चालन समिति, जनप्रतिनिधिहरु, कर्मचारीहरु सबैको प्रयासबाट अस्पताल सफल हुनेछ । मन देखि अस्पताल बनाउन लागेको कारण नगरबासीले चाहेजस्तो अस्पताल बन्ने छ । केहि समय लाग्न सक्छ, थप सेवा विस्तारमा । तर, सेवा विस्तार गरेरै छाड्नेछौं ।

अब, अस्पताललाई २४ घण्टा सञ्चालन गर्ने तर्फ हाम्रो ध्यान केन्द्रीत भएको छ । अस्पतालको समग्र पक्षहरुलाई सुधार गर्दै सेवा विस्तारलाई २४ घण्टै सञ्चालन गर्ने सपना पुरा गरेर छाड्नेछु । नगरवासीका लागि उपचारको उचित गन्तव्य नगर अस्पताल बन्नेछ ।

प्रकाशित मिति : चैत्र ६, २०८० मंगलबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]