बैशाख १७, २०८१ सोमबार

बाह्रदशीका सबै वडामा कालोपत्रे सडक निर्माण, थप ६ वटा ठेक्का लाग्यो

बिर्तामोड । झापाको बाह्रदशी गाउँपालिकाले टोलटोलसम्म कालोपत्रे सडक पुराउने उद्देश्यले थालेको पहिलो चरणको काम पुरा गरेको छ । सबै वडामा कालोपत्रे सडक पुराउने पहिलो चरणको योजना सम्पन्न गरेको हो ।

बाह्रदशी गाउँपालिकाले सात वटै वडामा ५-५ सय मिटर कालोपत्रे गर्ने अघिल्लो वर्षको निर्णय कार्यान्वय गरेको छ । हरेक वडामा कालेपत्रे गर्ने कामका लागि ४०-४० लाख बजेट बिनियोजन गरिएको थियो । भर्खरै वडा नं.२ र ३ को सीमामा पर्ने राजगढ बजारस्थित राजवंशी चोकदेखि पश्चिम मोटापानी जाने सडकमा कालोपत्रे गर्ने कार्य सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष देबिन्द्र प्रसाद चम्लागाईले जानकारी दिए । उनका अनुसार वडा–वडामा निर्माण गर्ने भनिएको कालोपत्रेको काम सकिएको छ ।

वडा नं.१ मा नयाँ वडा कार्यालय जाने बाटो, वडा नं. ४ मा चकचकी बजार देखि दक्षिण बागा बस्ती जाने बाटो कालोपत्रे गरिएको छ । यस्तै, वडा नं. ५ मा फूलवारी पूर्व घोडामारा जाने बाटो, वडा नं. ६ मा बाह्रदशी डाँडा पूर्व जाने बाटो र वडा नं.७ मा डाँगीबारी बजार पश्चिम खोला जाने बाटो कालोपत्रे सम्पन्न गरिएको अध्यक्ष चम्लागाईले जानकारी दिए ।
यस्तै, प्रदेश मार्फत वडा नं. ६ मा खाती चोकबाट बिहीवारे बजार जाने ५ सय मिटर सडक कालोपत्रे गरिएको छ । वडा नं. ४ मा शिवालय मन्दिर पूर्व घाग्राखोला जाने सडकमा कालोपत्रे गर्ने काम पुरा भएको चम्लागाईले बताए । उनका अनुसार केन्द्र सरकार, प्रदेश र गाउँपालिकाको लगानीमा वडा नं. ७ स्थित डाँडागाउँबाट कनकाई जोड्ने १५ सय मिटर सडकमा कालोपत्रे गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष चम्लागाईले ६ वटा सडक कालोपत्रे निर्माणका लागि ठेक्का लागिसकेको छ । प्रदेशको लगानीमा ६ वटा कालोपत्रे सडक निर्माणका लागि ठेक्का लागिसकेको हो । वडा नं.६ मा बिहीवारे चोकबाट सिर्जना चोक हुँदै राजगढ जाने १ किमि सडकमा कालोपत्रेका लागि ठेक्का लागेको छ ।

वडा नं. ६ कै मोतीगडा सिमलचोक हुँदै हिमाली सडक जोड्ने सडक, वडा नं. ७ को मिलन मार्ग–सिमलचोक हुँदै डाँगीबारी जाने ९५० मिटर सडक, फूलवारीबाट राजगढ जाने १.५० किमि सडक, वडा नं.६ को कुमाई गाउँबाट डाँगीबारी जाने सडक र वडा नं. ५ को शिवालय मन्दिरबाट पिपल चोक जाने सडक कालोपत्रेका लागि ठेक्का लागि सकेको अध्यक्ष चम्लागाईले जानकारी दिए ।

गाउँपालिकाका इन्जिनियर नारायन खरेलले कालोपत्रेका लागि राजगढको राजवंशी चोक उत्तर गेटसम्म बेस हाल्ने काम जारी रहेको बताएका छन् । उनका अनुसार उक्त सडक कालोपत्रेको काम सडक डिभिजन कार्यालयले गरिरहेको छ ।

प्रकाशित मिति : चैत्र १०, २०८० शनिबार  १२ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]