बैशाख १७, २०८१ सोमबार

लाखौं हिनामिना गरेको आरोपमा शुभसाइत सहकारीका उपाध्यक्षसहित तीनजना पक्राउ

भद्रपुर । बचतकर्ताको लाखौँ रकम हिनामिना गरेको आरोप शुभसाइत बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुरका उपाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सहकारीका उपाध्यक्ष भद्रपुर–८ निवासी सञ्जोक गिरी, संस्थाकी सचिव हल्दिबारी–३ निवासी कञ्चन आचार्य र सदस्य भद्रपुर–७ निवासी दीपक खवास रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । फरार रहेका उनीहरूलाई मंगलबार पक्राउ गरिएको हो ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको पत्रअनुसार झापा जिल्ला अदालतको अनुमतिमा जिल्ला प्रहरी कार्यालय झापाले फागुन ३० गते सञ्चालक समितिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही दिनदेखि उनीहरू फरार थिए । संस्थाका अध्यक्ष भद्रपुर–६ निवासी राजु भन्ने मदन श्रेष्ठ अझै फरार रहेको प्रहरी निरीक्षक गिरीले बताए ।

पक्राउ परेका उनीहरूमाथि झापा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर आवश्यक अनुसन्धान सुरु गरिएको उनको भनाई छ । सहकारीका पीडित शेयर धनी तथा बचतकर्ताहरूको सङ्घर्ष समितिले फागुन १४ गते प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीमा रकम हिनामिना गरेको भन्दै सञ्चालक समितिविरुद्ध उजुरी दिएका थिए । रजिस्ट्रार कार्यालयले सोही उजुरी बमोजिम अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउनु भन्दै प्रहरी कार्यालय झापालाई पत्राचार गरेको थियो।

सोही पत्राचार अनुसार प्रहरीले सहकारी शेयर सदस्यहरूले जम्मा गरेको शेयर पुजी र बचत रकम समिति वा सदस्य व्यवस्थापक वा कर्मचारीले हिनामिना एवं अपचलन गरेको मुद्दा दर्ता गराई कारबाही प्रक्रिया अघि बढाएको हो ।

२०७७ सालमा स्थापना भएको शुभसाइत सहकारीमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ । भद्रपुर–१० प्रधान कार्यालयको ठेगाना रहे पनि भद्रपुर–६ मा शुभसाइतले कार्यालय स्थापना गरी कारोबार गर्दै आइरहेको थियो। हाल सहकारीको कार्यालय बन्द छ ।

प्रकाशित मिति : चैत्र १४, २०८० बुधबार  ५ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]