बैशाख २४, २०८१ सोमबार

झापाली सहकारीले बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने

बिर्तामोड । झापाका सहकारीहरुले ६७ औं राष्ट्रिय सहकारी दिवसमा चैत २० गते बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएका छन् । झापाको बिर्तामोडमा आयोजना गरिने सहकारी दिवसको कार्यक्रमलाई शक्ति प्रदर्शनको रुपमा रुपान्तरण गर्ने तयारी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

झापा जिल्ला सहकारी संघले मनाउन लागेको राष्ट्रिय सहकारी दिवसमा १० औं हजारको सहभागिता गराइने संघका अध्यक्ष गणेश ढकालले जानकारी दिए । उनले सहकारी विरोधीहरु विरुद्ध शक्ति प्रदर्शनको लागि आवश्यक तयारी भइरहेको बताए । सहकारी क्षेत्रसँगै शुभेच्छुकहरुको उल्लेख्य सहभागितामा शक्ति प्रदर्शन हुने ढकालको भनाई छ ।

सहकारी दिवसको कार्यक्रमबाट सहकारी संस्था विना समाजमा नागरिकको वित्तीय पहुँच, वित्तीय साक्षरता , एकता र नेतृत्व विकास संभव छैन भन्ने सन्देश दिने बताईएको छ ।
सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने मुल नारा तय भएको अध्यक्ष ढकालले जानकारी दिए । पछिल्लो समय सहकारीमाथि भइरहेको आक्रमणलाई निस्तेज शक्ति प्रदर्शनको तयारी गरेको उनको भनाई छ ।

सहकारी व्यवसायको सुरक्षामा केन्द्रीत भई संघका सदस्य संघ-संस्थाको माग बमोजिम शक्ति प्रदर्शनमा संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहाकार समिति, उप–समिति, कर्मचारी र सदस्यसहित १० औँ हजार सहकारीकर्मीहरुको सहभागिता हुनेछ ।

उक्त कार्यक्रम सम्पन्न गर्नका लागि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको संयोजकत्वमा ५०१ सदस्य मुल समारोह समिति बनाइएको छ ।
सदस्यको बचत सहकारी मार्फत सदस्यहरुलाई नै लगानी गरिएको कर्जा नतिर्न अराजक तथा स्वार्थ समूहले आर्थिक संकटकोे फाइदा उठाउँदै सहकारी संघ÷संस्थामाथि प्रहार गरिरहेकोले त्यसका विरुद्ध झापाली सहकारीकर्मी सडकमा आउने भएका छन् ।

उक्त कार्यक्रमबाट ऋण लिए पनि नतिर्ने, नतिर्न उर्दी गर्ने, व्याज महङ्गो भयो भनेर सदस्यलाई भ्रम सिर्जना गर्ने, समाजमा अराजकता र अनुशासनहीन गतिविधि सिर्जना गरी आफूले लिएको ऋण नतिर्ने, सके ऋण दिने संस्थालाई नै धरासायी पार्ने उद्देश्यबाट परिचालित समूह विरुद्ध झापाका सहकारीहरु एक भएको सन्देश दिन खोजिएको छ ।

अध्यक्ष ढकालले गलत कार्य गर्ने, त्यस्तो कार्यमा प्रोत्साहन गर्ने, ऋण नतिर्ने सबै कानुनतः दण्डित हुनुपर्ने बताएका छन् । कार्यक्रममा २ सय जना स्वयमसेवक परिचालन गरिने छ ।
बिर्तामोडमा हुने शक्ति प्रदर्शनका लागि पूर्वतर्फ सुगम पेट्रोल पम्प, पश्चिमतर्फ भगवानचोक उत्तर तर्फ महानन्दचोक, दक्षिण तर्फ बिर्ताबजार हँुदै मुक्तिचोक परिक्रमा गरी झाँकीसहित ११ः३० बजे सिटी सेन्टरमा जम्मा हुने बताइएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमखु आतिथ्यता तथा जिल्ला तहका शीर्ष राजनीतिक दलका प्रमुख, पालिकाका प्रमुखहरु, सहकारी अभियानका केन्द्रीय नेताहरुको सहभागितामा सहकारी व्यक्तित्व मिनराज कडेललाई सम्मान गर्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : चैत्र १८, २०८० आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]