बैशाख २४, २०८१ सोमबार

झापामा प्लाष्टिकजन्य फोहोरबाट ब्लक उत्पादन सुरु

बिर्तामोड । कनकाई-बिर्ता-अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनीले ब्लक (पेवर्स) को उत्पादन सुरु गरेको छ । सोमवार एक कार्यक्रमका बीच प्लाष्टिकबाट पेवर्स बनाउने मेसिनको उद्घाटन गरिएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पवर्स बनाउने मेसिनको उद्घाटन गरेको हुन् । उद्घाटनसँगै उत्पादन पनि सुरु गरिएको छ ।

फोहोर व्यवस्थापनसँगै बायोग्यास उत्पादन गरिरहेको नविकरणीय उर्जा परियोजनाले प्लाष्टिकजन्य फोहोरबाट पेवर्स उत्पादन सुरु गरेको हो । एक हप्ता परीक्षणकालिन उत्पादन गर्ने बताइएको छ ।

झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको फोहोर व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको उर्जा परियोजना पब्लिक लिमिटेड हो । निजी तथा स्थानीय सरकारको लगानी रहेको परियोजनाले दैनिक २ हजार थान पेवर्स उत्पादन गर्ने परियोजनाका मेकानिकल इन्जिनियर मोहमद नसिम अलीले जानकारी दिए । १ करोड ७१ लाख लगानीमा सञ्चालनमा ल्याइएको प्लाष्टिक ब्लक मेकिङ मेसिन २४ घण्टा सञ्चालन गर्न सकिने छ । उनका अनुसार मेसिन सञ्चालनका लागि १० जना जनशक्तिको आवश्यक पर्नेछ ।

भारतबाट ल्याइएको अटोमेटिक मेसिनले बालुवा र प्लाष्टिकको मिश्रण आफै मिलाउने छ । ७०/३०, ६०/४० मिश्रण हुने प्लाष्टिक र बालुवाबाट ब्लक तयार गरिने छ । पहिलो चरणमा प्लाष्टिकलाई टुक्राएर ६० देखि ७० डिग्री तापक्रममा गलाएर लेदो बनाइने ई. अलीले जानकारी दिए । लेदोलाई प्रेस मेसिनमा राखेर ३० टनको लोड दिएर ब्लक निर्माण गरिने छ । ब्लकलाई विभिन्न आकारमा निर्माण गरेर केहीबेर पानीमा राखिने छ । ब्लकको भार क्षमता ८० टन रहेको ई. अलीले जानकारी दिए । मेन्टिनेन्स राम्रो भएमा ३० औं वर्षसम्म ब्लकले काम गर्नेछ ।

प्लाष्टिक र बालुवाबाट निर्मित ब्लकको मुल्य प्रति गोटा १२ रुपैयाँ पर्नेछ । सिमेन्टबाट निर्मित ब्लकको मुल्यभन्दा झण्डै आधा खर्चमा पाइने ब्लक सडक निर्माणदेखि घर कम्पाउण्डमा प्रयोग गर्न सकिन्छ ।

फुलफेजमा मेसिन चलाउन दैनिक ४ टन प्लाष्टिक चाहिने उर्जा परियोजनाले जनाएको छ । ४ टन प्याष्टिकबाट २ हजार ब्लक बनाउने सकिने बताइएको छ । अहिले नगरपालिकाहरुबाट पुरा फोहोर प्लान्टमा पुग्न सकिरहेको छ । सबै पालिकाले फोहोर पठाउन थालेपछि आवश्यक प्याष्टिकको व्यवस्था हुने उनको भनाई छ । अहिले दैनिक डेढ टन प्लाष्टिक संकलन भइरहेको बताइएको छ ।

४ अघिदेखी निर्माण सुरु गरिएको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजनाले वर्गीकरण गरेको फोहोरबाट बायोग्यास र ब्लक निर्माण गर्नेछ । बायोग्यास उत्पादन भइरहे पनि त्यसको विक्री हुन सकिरहेको छैन ।

प्रकाशित मिति : चैत्र १९, २०८० सोमबार  ६ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]