बैशाख २४, २०८१ सोमबार

झापामा सहकारी विरोधीविरुद्ध बृहत शक्ति प्रदर्शन

बिर्तामोड । झापाका सहकारीकर्मीहरुले विरोधीलाई तर्साउने गरी आज बिर्तामोडमा शक्ति प्रदर्शन गरेका छन् । ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले हजारौंको संख्यामा र्याली गर्दै कार्यक्रम स्थल पुगेका थिए ।

सहकारी विरोधी गतिविधि बढ्दै गइरहेको बेला झापाका सहकारीले राष्ट्रिय दिवसको अवसरमा एकताको सन्देश दिएका छन् । जिल्लाभरका सहकारी संस्था, कर्मचारी, सदस्यहरुको उपस्थिति रहेको र्याली सिटी सेन्टरको प्राङगण पुगेरका औपचारिक कार्यक्रममा सहभागी जनाएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी कानुनमन्त्री पदम गिरीले मुलुकको सहकारी अभियानलाई ध्वस्त पार्ने रहस्यपूर्ण षड्यन्त्रमा सक्रिय रहेको बताएका छन् । अतिवादी सोच भएका केही व्यक्ति र स्वार्थ समूह मुलुकको सहकारी अभियानलाई ध्वस्त पर्ने रहस्यपूर्ण षड्यन्त्रमा सक्रिय रहेको उनले जिकिर गरेका थिए ।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले सहकारीको ऋण तिर्नु पर्दैन भनेर आन्दोलन गरिरहेको र बहालवाला गृहमन्त्री रवि लामिछानेले सहकारीको करोडौं रुपैयाँ अपचलन गरेको आवाज उठिरहेका बेला कानुनमन्त्री गिरीले यस्तो सार्वजनिक अभिव्यक्ति दिएका हुन् ।

बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको विकास र संरक्षणमा सरकारको दर्बिलो साथ रहेको स्पष्ट समेत पारेका छन् । मन्त्री गिरीले देशभरका सहकारीकर्मीलाई नडराउन र हडबड नगर्न डाडस दिएका छन् ।
’तीन खम्बे अर्थनीति अन्तरगत सहकारी संविधानले अङ्गिकार गरेको क्षेत्र हो’ उनले भने, ‘तपाईंहरु डराउनु पर्दैन, सरकार साथमा छ ।’ उनले ‘सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्नू’ देशको अर्थतन्त्रलाई भड्खालोमा हाल्ने र घुँडा टेकाउने खराब नियत भएको दाबी समेत गरेका छन् ।

‘सहकारी अभियान सरकार, साहुमाहजन, ठूलाबडा र धनीमानीले किस्तीमा दिएको उपहार होइन’ उनले भने, ‘यो निम्न आय र वर्गका नागरिकको मेहनतले स्थापित अभियान हो, एकदुई जनाको षड्यन्त्रले कमजोर हुने र भत्कने क्षेत्र नै होइन ।’ उनले सहकारी क्षेत्रमा देखिएका बेथिति र कमीकमजोरी सच्याउने संकल्प गरेर अघि बढ्न सहकारीकर्मीलाई निर्देशन समेत दिए ।

‘सरकारले राम्ररी बुझेको छ , मुलुकको समृद्धि र समुचित विकासका लागि सहकारी अनिवार्य र अपरिहार्य छ’ उनले भने, ‘देशको अर्थतन्त्र सहकारीले परिवर्तन गर्छ, त्यसमा सरकार विश्वस्त छ ।’ बेलाबेलामा संगठित रूपमा नै सहकारीमाथि आक्रमण हुने गरेको मन्त्री गिरीले स्मरण गराए ।

देशका १० मध्ये झापामा रहेका तीन ठूला सहकारी सहारा, एनएमसी र कर्णालीलाई संस्थागत रुपमा तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेललाई सम्मान समेत गरिएको थियो ।

झापामा ७५६ वटा सहकारी छन् । जसमध्ये ४२३ वटा पालिका र ३३३ वटा सहकारी प्रदेश रजिस्ट्रार कार्यालय अन्तर्गत रहेका छन् । झापाका सहकारीको शेयर पुँजी १० अर्ब २२ करोड ७८ लाख ३२ हजार ४६० रुपैयाँ छ ।

झापाका सहकारीको बचत ५२ अर्ब १७ करोड ५४ लाख ३१ हजार ८६ रुपैयाँ, विभिन्न कोषमा ६ अर्ब ५ करोड ४५ लाख ७३० रुपैयाँ रहेको छ । झापामा सञ्चालित सहकारीले ६५ अर्ब ५७ करोड ५४ लाख २१ हजार १४० रुपैयाँ ऋण लगानी गरेका छन् । वासलत ८२ अर्ब ७९ करोड ९६ लाख ७७ हजार ७७२ रुपैयाँ रहेको छ ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष मिनराज कडेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले झापाका नव निर्वाचित अध्यक्ष प्रेमवहादुर गिरी र नेकपा (माओवादी केन्द्र) झापाका अध्यक्ष राजु आचार्य (अग्नि) लगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

सोही कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका निर्वतमान अध्यक्ष मिनराज कडेललाई सम्मान तथा संघले प्रकाशन गरेको सहकारी स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रममा विभिन्न जात जातिको पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । कार्यक्रम अघि झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका अभियान्तासहित प्रमुख तथा प्रतिनिधिहरुले प्रभातफेरीको आयोजना गरेका थिए ।

बिर्तामोडस्थित उत्तरतर्फ महानन्द चौक, पश्चिमतर्फ भगवान चौक, दक्षिणतर्फ बिर्ता वजार र पूर्वतर्फ बस पार्क क्षेत्रबाट विभिन्न २९ वटा नारा सहितको प्लेकार्ड र झाँकी सहितको ¥याकी आयोजना गर्दै कार्यक्रम स्थलमा सहकारीकर्मी पुगेका थिए ।

सहकारी दिवस मनाउन र सहकारी अभियानलाई अझ सशक्त रुपमा अघि बढाउन सहकारीकर्मी र सदस्य एकीकृत गराउन संघले झापामा ब्यापक रुपमा सहकारी दिवस मनाएको जनाएको छ ।

प्रकाशित मिति : चैत्र २०, २०८० मंगलबार  ९ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]