बैशाख २१, २०८१ शुक्रबार

बिन्ध्याबासिनी सिंहदेवी मन्दिरमा श्रीमद् गरुड महापुराण सुरु

शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ भाङबारीस्थित बिन्ध्याबासिनी सिंहदेवी मन्दिरमा श्रीमद् गरुड महापुराण नवाह ज्ञान महायज्ञ मंगलबार देखि शुरु भएको छ । मन्दिर समितिले रामनवमीको अवसर पारेर सातौं बार्षिक अनुष्ठानको रुपमा नौ दिवसीय महापुराण सप्तसती चण्डीपाठ महायज्ञको आयोजना गरेको हो ।

समुद्घाटन समारोहका प्रमुख अतिथि एवं अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्नि प्रसाद सिग्देलले पानसमा बत्ती बालेर महायज्ञको उदघाटन गरेका हुन् । त्यस्तै मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीले भद्रपुर नगरपालिका – १० निवासी मुरारी खरेल तथा निता खरेलबाट प्राप्त १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक गल्लामा हालेर दानपेटिका उद्घाटन गरेका थिए भने तेज बहादुर खड्काले धान्यचल उद्घाटन गरेका थिए ।

प्रमुख कथा वाचक पण्डित बालकृष्ण अर्याल र उपवाचक पण्डित कृष्णप्रसाद चापागाईं रहने महापुरा आगामी बैशाख ५ गते समापन हुने महायज्ञ उद्घाटन समारोह विधिवत् सम्पन्न भएको हो । अध्यक्ष मनोज जोशीले कार्यक्रमको सभापतित्व गर्दै अघिल्लो बर्षको पुराणमा प्रतिवद्धता गरेको निर्माण सम्बन्धी केही कुराहरु श्रवण हलमा सिलिङ लगाउने कार्य सम्पन्न गरिसकेको र हाल राधाकृष्ण मन्दिर निर्माण भइरहेको अवगत गराए । उनका अनुसार निर्माण सम्पन्न भएपछि कृष्णअष्टामीका दिन मन्दिर उद्घाटन गरिनेछ ।

मन्दिर निर्माणका लागि दाताहरुबाट सहयोग प्राप्त भइरहेको जानकारी दिए । अक्षयकोषको निरन्तरता दिदै एक करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ । सो रकमबाट आएको ब्याजले स्थानीय गरीब, दुःखीहरु बिमारी हुदाँ उपचार गर्न सहयोग गरिनेछ । मन्दिर समिति सचिब तथा उद्घोषक विभागका संयोजक एकदेव खनालले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा संस्कृत बेद बिद्यापीठका बिद्यार्थीहरले स्वस्तिवाचन गरेका थिए ।

सो अवसरमा इलाम– झापा मैत्री समाज बिर्तामोड नौमती बाजा समूहलाई अध्यक्ष जोशीबाट व्यक्तिगत नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । समूहका कलाकारहरुलाई रुद्राक्षको माला गलामा लगाईदिएर सम्मान गरिएको सचिव खनालले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि सिग्देल, विशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका –४ का वडाध्यक्ष अम्बर बहादुर कटुवाल, सनातन समाज झापाका अध्यक्ष भागवत गौतम, दनुवार जागरण समाज जिल्ला सदस्य यमनकुमार दनुवार, सामाजिक अग्रणी महिला नेतृ लक्ष्मी न्यौपाने, पतञ्जलि योग समिति अर्जुनधाराका अध्यक्ष दधिराम मिश्र, मन्दिर समितिका वरिष्ठ उपाध्यक्ष प्रेम बहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि नौमती बाजा सहित कलश यात्राले नगर परिक्रमा गरिएको थियो । अर्जुनधारा नगरपालिका – ४ वडा कार्यालयको सहयोग र मन्दिर समितिको व्यवस्थापनमा २८ गते बुधबार विहान ४ः ३० देखि ६ ः ०० बजे सम्म पुराण अवधिभर योग गुरुहरुबाट योग प्रशिक्षण गराइने हुदाँ उक्त योग शिविरमा सहभागी भई फाइदा उठाउन आयोजकले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]