जेष्ठ ६, २०८२ सोमबार

ट्रक र बस ठोक्किँदा चारजना घाइते

बारा । पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ–चपुर सडक खण्डको रौतहटको गुजरामा मिनी ट्रक र यात्रुवहाक बस ठोक्किएका छन्। राजमार्गको साँघुरो काठे पुलबाट निस्कने क्रममा रहेको पूर्वबाट कवाडी बोकेर पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ४०८७ नम्बरको मिनी ट्रक र वीरगञ्जबाट विराटनगर यात्रु बोकेर जाँदै गरेको भाग्य लक्ष्मी डिलक्स बस बिहान साढे ६ बजे ठोक्किएको हो।

ठक्करबाट ट्रकका चालक र बसका तीनजना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते हुनेमा चालक बाराको निजगढ नगरपालिका–७ का ३६ वर्षीय मानबहादुर सुनुवार, बसका यात्रु बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ की २४ वर्षीया सम्झना थापा, ५५ वर्षीया नाङसाङ लामा र सिराहाको लक्ष्मीपुर गाउँपालिका–१ का ४० वर्षीय रामेश्वर यादव रहेका छन् ।

घाइतेको एपोलो सिटी हस्पिटल चपुरमा उपचार भईरहेको छ। ठक्करबाट बस र मिनी ट्रकको चालकतर्फको भागमा क्षति पुगेको छ। बसका चालक फरार रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको मिनी ट्रक पुलको मुखमै अड्किएपछि सडक अवरुद्ध भएको थियो। पानी परेको अवस्थामा सडक अवरुद्ध हुँदा दर्जनौं सवारी साधानका यात्रुलाई समस्या भएको थियो।

प्रकाशित मिति : पुष १९, २०७६ शनिबार  ११ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]