जेष्ठ ५, २०८१ शनिबार

बाख्रापालन गर्न बिर्तामोडमा ३० वटा नयाँ खोर तयार

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले किसानहरुलाई बाख्रा पालनका लागि पाठा वितरणको तयारी गरेको छ । बाख्रा पालनका लागि किसानहरुले खोर निर्माण अन्तिम चरणमा पुराएका छन् ।

मेयर पकेट कार्यक्रम अन्तर्गत बाख्रा साटासाट कार्यक्रम अन्तर्गत नगरपालिकाले नयाँ दुई समूह गठन गरेर बाख्रा वितरणको तयारी गरेको हो । दुई समूहमा आवद्ध हुने ३० जना किसानलाई ३-३ वटा पाठी र एक समूहलाई एउटा विउ बोका वितरण गर्ने तयारी गरिएको पशु तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

१५ वटा समूहले यसअघि नै बाख्रा पालन गरिरहेका छन्, अब नयाँ २ वटा समूह गठन गरिएको छ । नयाँ समूहहरुले बाख्रा पालनका लागि खोर निर्माण लगभग सकेका छन् । खोर निर्माणको अवस्था बारे नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, पशु शाखा प्रमुख, प्राविधिक, इन्जिनियरसहितको समूहले शुक्रवार अनुगमन गरेको छ । अनुगमनका क्रममा खोर निर्माण सम्पन्न भएको शाखा प्रमुख दाहालको भनाई छ । उनले बिर्तामोड ९ को जीवनआधार महिला विकास समूह र बिर्तामोड ८ को किसानभिट्टा व्यवसायिक बाख्रा पालन समूहबाट फिर्ता आउने बाख्रा नयाँ समूहलाई दिइनेछ ।

३० वटा खोर निर्माणका लागि नगरपालिकाले हरेक किसानलाई ३५ हजारका दरले सहयोग गरेको छ । शाखा प्रमुख दाहालका अनुसार मापदण्ड अनुसार खोर निर्माण गरेपछि किसानलाई बाख्रा उपलब्ध गराउने गरिएको छ । मापदण्ड अनुसार खोर निर्माण गरेका किसानलाई सोमवारभित्रमा बाख्रा उपलब्ध गराउने तयारी गरिएको छ ।

खोर निर्माणमा ३५ हजार लगानी गर्नेदेखि निुशल्क बाख्रा वितरण, वीमा, घाँसको विउ, नाम्ले जुकाको औषधि र खोपसम्मको सुविधा उपलब्ध गराउने उनको भनाई छ ।

नगर उपप्रमुख संग्रौलाले आगामी दिनहरुमा पनि कार्यक्रम जारी राख्ने बताएका छन् । विउ पुँजीको रुपमा बाख्रा पाउने किसानले एक डेढ वर्षमा अर्को समूहका लागि बाख्रा फिर्ता गर्ने गरेको बताए । गाउँगाउँमा महिलाको जीवनस्तर उठाउनका लागि बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएको उनको भनाई छ ।

वडा नं. ८, ९, १० मा सफल भएको कार्यक्रम यो वर्षबाट वडा नं. २ मा पनि विस्तार गरिएको उपप्रमुख संग्रौलाले जानकारी दिए । समूहमा आवद्ध हरेक महिला दिदी बहिनीहरुको खोरमा १०-१५ वटा बाख्रा देख्न पाइन्छ । यो बाख्रा साटासाट कार्यक्रमको पनि उपलब्धी हो । नगरले दिएको बाख्रासँगै थप गरेर किसान दिदीबहिनीहरुले पनि पालिरहेको बताए ।

प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार  ५ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]