बैशाख २६, २०८२ शुक्रबार

भारतीय मिडियामा नेपाल चर्चा ! चीनसँगको पारवहन प्रोटकलदेखि कालापानीसम्म

काठमाडौं ।  नेपाल र चीनबीच भएको पारवहन प्रोटोकलको कार्यान्वयन आउँदो फेब्रुअरी महिनाबाट सुरु हुने भारतीय मिडियामा चर्चा भएको छ । 

आईएएनएस समाचार एजेन्सीको समाचार आउटलुक इन्डिया डट कमले प्रकाशित गरेको छ । 

सो सम्बन्धी सहमतिमा हस्ताक्षर चीन र नेपालबीच सन् २०१९ को अप्रिल २९ मा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा भएको थियो । 

सोे प्रोटोकलअनुसार नेपाललाई सातवटा चिनियान सामुद्रिक र ल्यान्ड पोर्ट तेस्रो देशसँगको व्यापारका लागि मिल्ने समाचारमा जनाइएको छ । 

अहिलेसम्म तेस्रो देशसँगको नेपालको व्यापार भारत हुँदै भइरहेको जनाइएको छ ।

सबै प्रक्रिया पूरा भएपछि नेपालले गएको अगस्ट महिनामा चीनलाई यसबारेमा जानकारी गराएको उल्लेख गर्दै चिनिया विदेशमन्त्रालयले समेत यसबारेमा तयारी पूरा भएको भनेर गएको मंगलबार नेपाललाई जानकारी गराएको समाचारमा उल्लेख गरिएको छ । 

सो समाचारमा नजिकैको चिनियाँ सामुद्रिक बन्दरगाह  तियान्जिन नेपालको सीमाबाट ४ हजार किमी दूरीमा रहेको र त्यो दूरी कोलकाता र वीरगञ्जको दूरीभन्दा चार गुणा भएको जनाइएको छ । 

सो समाचारमा नेपालको काठमाडौं पोस्ट पत्रिकालाई पनि उद्धृत गरिएको छ । 

टाइम्स अफ इन्डियाको समाचारमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रभीसकुमारले नयाँ दिल्लीमा गरेको पत्रकार सम्मेलनमा नेपाल प्रसंगमा राखेको कुरालाई नै हेडलाइन बनाएको छ ।  

उनले सो अवसरमा भारतको नक्साले भारतको सार्वभौम भूभागलाई  वास्तविक रुपमा नै देखाएको र नेपालसँगको सीमा पुनरवलोकन नहुने जनाएको उल्लेख गरिएको छ ।

गएको बुधबार नेपाल र भारतका प्रधानमन्त्रीका बीचमा भएको फोन संवादका क्रममा कालापानीको विषयमा कुरा उठे नउठेको बारेमा राखिएको एक प्रश्नमा रभीशकुमारले सो भनाइ राखेका थिए ।

भारतका प्रधानमन्त्री मोदीले गएको बुधबार नयाँवर्ष २०२० को अवसरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका थिए । 

यद्यपि उनले नेपालका प्रधानमन्त्री ओलीलाई मात्रै फोन गरेका होइनन् । 

भारतको विदेश मन्त्रालयले जारी गरेको सो सम्बन्धी वक्तव्यमा बुधबार मोदीले भुटानका राजा जीग्मे खेसर नाम्ग्याल वाङ्गचुक, भुटानकै प्रधानमन्त्री लोटे छिरिङ्ग, श्रीलंकाका राष्ट्रपति गोताबाया राजपक्षे, प्रधानमन्त्री महेन्द्रा राजपक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम महोहम्मद सोलिह, बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेद र नेपालका प्रधानमन्त्री ओलीलाई फोन गरेका थिए । 

फोनमा नयाँ वर्षको शुभकामना दिनुका साथै नेपाली प्रधानमन्त्रीसँग सन् २०१९ मा नेपाल र भारतका सम्बन्धमा भएको प्रगतिमा सन्तोष व्यक्त गरिएको भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ । 

त्यसैगरी, केही परियोजना सम्पन्न भएकोमा सन्तोष मान्दै खासगरी मोतिहारी (भारत)–अमलेखगञ्ज (नेपाल)मा पेट्रोलियम प्रोडक्टस पाइपलाइन समयमै सम्पन्न भएकोमा सन्तोष व्यक्त गरिएको थियो । 

दुवै नेताले विराटनगरमा एकीकृत चेक पोस्ट  र हाउजिङ्ग रिकन्स्ट्रक्सन प्रोजेक्ट नेपालमा भिडियो कन्फेरेन्समार्फत चाँडै उद्घाटन गर्ने कुरामा सहमति जनाएको समेत भारतको विदेश मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : पुष २०, २०७६ आईतबार  ३ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]