जेष्ठ ६, २०८१ आईतबार

अभिभावकको दायित्व नभुलौं

सम्पादकीय
सामुदायिक विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरुको वर्गीय अवस्था कमजोर हुन्छ । तुलानात्मक रुपमा निजीभन्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको अवस्था ज्यादै कमजोर छ । अभिभावकहरुको ठुलो संख्या ज्याला मजदुरीमा क्रियाशिल भएको पाइन्छ । यसो हुनुको कारण, सामुदायिक विद्यालयमा गरिव, विपन्नहरु अध्ययन गर्ने भन्ने भाष्य स्थापित गरिएको थियो । वर्गीय हिसावले राम्रो अवस्था भएका परिवारका बालबच्चा निजी जाने र ज्याला मजदुरी गर्नेहरुको बालबच्चा सामुदायिकमा जानुपर्ने सामाजिक प्रवृति विकास भएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यालयका शिक्षक कर्मचारीहरुको सक्रियता बढ्दो छ । बालबालिकाको भविष्यप्रति सचेत शैक्षिक सरोकार राख्ने व्यक्तिहरु सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा धेरै मेहनत पनि गरिरहेका छन् । शिक्षक र विद्यार्थीको मात्र प्रयासबाट विद्यालय सुधार हुन सक्दैन । विद्यालयको शैक्षिक गुणस्तर सुधार र राम्रो नतिजाका लागि अभिभावक पनि अग्रसर हुनुपर्छ । त्यसका लागि अभिभावकलाई बुझाउन सक्ने शिक्षासेवीको खाँचो छ ।

हल्दिवारी ३ स्थित लक्ष्मी माविका शिक्षक पर्शुराम अधिकारी दुई सातादेखि अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका छन् । धेरै सरकारी शिक्षकहरुलाई राजनीति गर्न समय अभाव छ । आफ्नै अतिरिक्त व्यापार व्यवसाय गर्ने हतारो छ । तर, अधिकारीले विद्यालय समयपछि र छुट्टिको दिन पारेर अभिभावकलाई बुझाउने प्रयास गरिरहेका छन् । विद्यालयमा खवरदारी गर्ने र विद्यार्थीको नियमित पढाई जाँच गर्न अभिभावकले अग्रसरता देखाउनुपर्ने भन्दै उनले सचेत बनाउने प्रयास गरिरहेका छन् । बालबालिकाहरुलाई नियमित विद्यालय नपठाउने, घरमा राम्रो रेखदेख नगर्ने हुँदा सामुदायिक विद्यालयका बालबालिकाहरु कमजोर भइरहेको उनको निष्कर्ष छ । शिक्षकले पढाएर मात्र हुदैन, अभिभावकको पनि चासो र चिन्ता हुनुपर्ने शिक्षक अधिकारीको अभियानको मुल सन्देश छ । यसैले सबै अभिभावकहरु स्वतः सचेत हुनुपर्छ । आफ्नो बालबच्चाको सुन्दर भविष्यका लागि अभिभावक एक कदम अघि बढ्नपर्ने देखिन्छ ।

प्रकाशित मिति : बैशाख २५, २०८१ मंगलबार  ७ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]