बैशाख २४, २०८२ बुधबार

विएण्डसीसहित छ वटा अस्पतालमा मिर्गौलाको निःशुल्क डाइलासिस सेवा

झापा । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आजदेखि बिर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा यो सेवा सुरु भएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिँदै आइएको छ । झापाका बीएन्डसी टिचिङ अस्पताल, ओमसाई पाथीभरा हस्प्टिल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

बीएन्डसी टिचिङ अस्पतालले आजदेखि पाँच वटा मेसिनमार्फत हेमोडाइलासिस सेवा सुरु गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । उनका अनुसार अस्पतालमा ‘पेइङ डाइलासिस’ सेवा पहिल्यैदेखि सञ्चालनमा थियो । आगामी एक महिनाभित्र २० वटा मेसिन थपेर सेवा विस्तार गर्ने तयारी भइरहेको उनले बताए ।

“झापामा मिर्गौलाका रोगीले डाइलासिस सेवा पाउन पालो कुर्नुपर्ने अवस्था नआओस् भनेर बीएन्डसी अस्पतालले सेवा सुरु गरेको हो”, उनले भने, “यो सेवा पाउनका लागि पालिकाबाट फारिस् पत्र ल्याउनुपर्छ । अरु केही झञ्झट बेहोर्नु पर्दैन । बिरामीले आजीवन वा मिर्गौला प्रत्यारोपण नगरेसम्म यो निःशुल्क सेवा लिन पाउने व्यवस्था छ ।”

बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा। गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताए। दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ ।

सर्जन डा। मुक्ति देवकोटाले बीएन्डसी अस्पतालमा डाइलासिस गराउने बिरामीको सजिलोका लागि फिस्टुला बनाउने शल्यक्रिया समेतको सेवा उपलब्ध भएको जानकारी दिए। झापामा सबैभन्दा बढी १९ वटा मेसिन राखेर ओमसाई पाथीभरा अस्पतालले डाइलासिस सेवा दिइरहेको छ । अस्पतालका व्यवस्थापक मनोज दाहालका अनुसार ओमसाईले भद्रपुरबाहेक लहान र इटहरीबाट समेत मिर्गौला रोगीका लागि हेमोडाइलासिस सेवा उपलब्ध गराइरहेको छ ।

भद्रपुरको प्रादेशिक अस्पतलामा १३ वटा, बिर्तासिटीमा पाँच वटा र मनमोहन अस्पतालमा पाँच वटा मेसिन राखेर बिरामीहरूलाई डाइलासिस सेवा दिइने गरेको छ ।

अस्पतालहरूमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरूले हेमोडाइलासिसका लागि धरान र विराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]