कनकाई नगरमा एमालेद्वारा ८ सम्मानित
सुरुङ्गा । नेकपा एमाले कनकाई नगर कमिटीले ८ जना अगुवालाई सम्मान गरेको छ । पञ्चायतकालमा नेपालको सबैभन्दा ठूलो भूमिगत कम्युनिस्ट पार्टी तत्कालीन नेकपा मालेको निर्देशनमा जनपक्षीय उम्मेदवारका रूपमा उठी जनप्रतिनिधि बनेका साविक सुरुङ्गा र घैलाडुब्बा क्षेत्रका अगुवामध्ये ८ जनालाई सम्मान गरिएको हो ।
बहुदलीय प्रजातान्त्रिक व्यवस्था स्थापनाका लागि पञ्चायतलाई उपयोग गरी पञ्चायतकै भण्डाफोर गर्ने कपिलमनि ओली, विष्णुप्रसाद ढकाल, केदार चुडाल र डाकमान ठटाललाई मरणोपरान्त सम्मान गरिएको थियो । उक्त सम्मान परिवारजनले ग्रहण गरेका थिए । त्यसै गरी, लक्ष्मीप्रसाद पाठक, नरेन्द्रप्रसाद मैनाली, लक्ष्मीकुमार राई, गोविन्दप्रसाद पौडेल र प्रेमप्रसाद पाठकलाई सम्मान गरिएको थियोे । एमाले कनकाई नगरको दोस्रो अधिवेशनमा सो सम्मान गरिएको हो ।

नगर संयोजक गोकर्ण ओझाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य एवम् भोजपुर जिल्ला इञ्चार्ज संविधानसभा सदस्य रविन कोइरालाले नेकपा एमालेले आफ्ना कामको विश्लेषण र मूल्यांकन गर्नुपर्ने बताए । उनले नेपाल र नेपाली जनताको प्रमुख दुश्मन रहेको दलाल पूँजीवादलाई राष्ट्रिय चरित्रको पूँजीवादको रूपमा बदल्न दलाल पूँजीवादका पखेटा काट्नुपर्नेमा जोड दिए ।
आजको मूल कार्यभार आर्थिक क्रान्ति, सामाजिक क्रान्ति, सांस्कृतिक रूपान्तरण र मौलिक संस्कृतिको जगेर्ना रहेकोमा जोड दिँदै यसरी मात्रै समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार हुने बताए । केन्द्रीय सदस्य कोइरालाले पार्टीभित्र गुट र उपगुट बनाउने कामलाई निरुत्साहित गरेर मात्रै एकीकृत र सबल पार्टी निर्माण गर्न सकिने बताए ।
त्यसै गरी, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीले जनतासँगको पार्टीको सम्बन्ध न्यानो, घनिष्ठ र सहज हुनुपर्नेमा जोड दिए । उनलेे भने,” हामीले माथिल्लो तहका नेतासँग मात्र होइन, तल्ला तहका कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणसँग सेल्फी खिच्नुपर्छ ।” अध्यक्ष गिरीले एमालेका कार्यकर्ता वैचारिक रूपमा दृढ र प्रष्ट बन्न विचारधारात्मक काम गर्नुपर्नेमा जोड दिए ।
उनलेे पार्टीमा भावनात्मक एकता हुनुपर्ने, आर्थिक रूपमा पारदर्शी हुनुपर्ने, दिगो आर्थिक व्यवस्थापनको योजना बनाउने, पार्टीका अग्रजहरूलाई सम्मान गर्ने, संस्कारयुक्त युवा नेतृत्वको विकास गर्नुपर्ने, जनप्रतिनिधिका कामलाई संस्थागत गर्नुपर्ने, नगरको विकासको खाका पार्टीले बनाउनुपर्नेमा सबैलाई सुझाव दिए । पार्टी वर्गपक्षधरताको झण्डा र जनप्रतिनिधि वर्गपक्षधरताको ऐना बन्नुपर्नेमा जोड दिँदै क्रान्ति सम्पन्न गर्न कम्युनिस्ट एकता आवश्यक रहेकाले सबै वामपन्थी तथा कम्युनिस्टहरूलाई एमालेमा मूलप्रवाहीकरण गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले प्रदेश सदस्य तथा झापा क्षेत्र नं. ४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, केन्द्रीय सल्लाहकार
सूर्य उप्रेती, कोशी प्रदेश पूर्व मन्त्री हीरा थापा, प्रदेश सल्लाहकार टंकबहादुर कार्की, टीकाप्रसाद लामिछाने, झापा उपाध्यक्ष शिव ढुंगेल लगायतको आतिथ्य रहेको थियोे ।