बिर्तामोडको बेरुजु ७.५८ प्रतिशत घट्यो
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको अघिल्लो वर्षको तुलनामा बेरुजु रकम घटेको छ । महालेखा परीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७९-८० को बेरुजु ४.५४ प्रतिशत छ ।
यो आर्थिक वर्ष ०७८-७९ को प्रतिवेदन अनुसार ७.५८ प्रतिशतले कमी हो । उक्त आर्थिक वर्षमा बिर्तामोडको बेरुजु १२.१२ प्रतिशत उल्लेख थियो ।
२४ करोड ६० लाख १६ हजार रहेको अघिल्लो आर्थिक वर्षको वेरुजु रकम घटेर १२ करोड ९५ लाख ४१ हजार रुपैयाँमा आएको नगरका लेखा अधिकृत तेजिन्द्र तामाङले जानकारी दिए ।
बिर्तामोडमा सैधान्तिक बेरुजु, नियमित गर्नुपर्ने बेरुजु , प्रमाण पेश गर्नुपर्ने बेरुजु, असुलउपर गर्नुपर्ने र पेश्की बेरुजु लगायतका बेरुजु देखिएका छन् । अघिल्ला वर्षहरुमा भन्दा बेरुजु रकम घटाउँदै गएको र यसलाई शून्यमा झार्ने रणनीतिका साथ काम भईरहेको तामाङको भनाई छ ।