असार २, २०८१ शनिबार

बिर्तामोडका महिला कृषकहरुलाई बाख्रा वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ६ मा बाख्रा वितरण गरेको छ । नगरको मेयर पकेट प्याकेज ग्रामीण बाख्रा साटासाट कार्यक्रम अन्तर्गत महिला कृषकहरुलाई सोमबार बाख्रा वितरण गरिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले याग्राङ्ग सिङ्ग कृषक समूहलाई ४५ वटा पाठी र एउटा बोयर जातको विउ बोका वितरण गरेकी हुन् । समूहमा रहेका १५ जनाले तीन–तीन वटाको दरले बाख्रा प्राप्त गरेका छन् ।

मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा प्राप्त गरेको समूहले एक वर्षपछि त्यति नै संख्यामा बाख्रा अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । सोमवार प्रदान गरिएको बाख्रा वडा नम्बर ८ को किसानभिट्टा व्यवसायिक तथा पशुपालन कृषक समूहबाट उपलव्ध गराईएको हो ।

नगरपालिकाले आर्थिक वर्ष २०७४-०७५ यता ७ सय २१ वटा बाख्रा वितरण गरिसकेको छ । साथै यस अवधिमा २ सय ४० वटा खोर पनि निर्माण गरेको छ । बाख्रा वितरण गरेपछि नगरपालिकाले खोर निर्माणसँगै बीमा, खोप, सिजनको घाँस र औषधी उपचारमासमेत सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले ग्रामीण महिलाहरुको आर्थिक उपार्जनका लागि सञ्चालन गरिएको बाख्रा साटासाट कार्यक्रम प्रभावकारी बनेको बताइन् । उनले स्थानीय सरकारको अभ्यास सुरु भएसँगै मेयर पकेट कार्यक्रम सञ्चालन भएको र बाख्रा, बंगुर साटासाट कार्यक्रमले नगरपालिकाको लक्ष्य प्राप्त गरिरहेको धारणा राखेकी हुन् । महिलाहरुले बाख्रा पालन सुरु गरेपछि छोराछोरीको शिक्षा, चाडपर्व र घर खर्च चलाउन सघाउ पुगेको भन्दै नगर प्रमुख प्रसाईले बाख्रालाई राम्रो पालनपोषण गरेर मनग्य आम्दानी लिन आग्रह गरिन् ।

बिर्तामोडमा बाख्रा पालनमा १५ वटा महिला कृषक समूह रहेको पशुपंछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । उनले यस कार्यक्रम अन्तर्गत कृषकहरुले वार्षिक ६० हजार देखि ३ लाख रुपैयाँसम्म आम्दानी गरेको जानकारी दिएकी छन् । नगरले सुरुवातमा २ लाख ६५ हजार लगानी गरेर बाख्रा खरिद गरी मेयर पकेट अन्तर्गत बाख्रा साटासाट कार्यक्रमलाई अघि बढाएको थियो ।

आर्थिक विकास समिति संयोजक संगिता सिवाले सानो लगानी भए पनि यस कार्यक्रमबाट राम्रो आम्दानी गर्न सकिने बताइन् । उनले नगरका विविध कार्यक्रमहरुमा बाख्रा साटासाट कार्यक्रम प्रभावकारी भएकी बताएकी हुन् । शिवाको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा सरोकारवालाको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]