हल्दिवारीको स्थानीय पाठ्यक्रम : ५४ पाठ लेखेर ६४ को भुक्तानी
बिर्तामोड । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा हल्दिवारी गाउँपालिकाको पाठ्यक्रम निर्माणमा सम्झौता अनुसार काम नगरी भुक्तानी लिएको भेटिएको छ ।
प्रस्तावकले सम्झौताअनुसार ६४ वटा पाठ लेखनबापत रकम भुक्तानी लिएका छन् । प्रस्तावमा उल्लेख भएको पाठ संख्याभन्दा १० वटा पाठहरू कमी लेखन तथा निर्माण कार्य गरेको प्रतिवेदनले जनाएको छ ।
प्रकाशित भइसकेको कक्षा १, २ र ३ कक्षाको पुस्तकको पाठ संख्या गणना गर्दा ५४ वटा मात्र भेटिएको छ । विज्ञको प्रस्तावमा उल्लेख भएभन्दा १० वटा पाठहरू कमी लेखन तथा निर्माण गरेको महालेखाले स्पष्ट पारेको छ । सम्झौताभन्दा १० वटा पाठको बढि भुक्तानी लिएको ५१ हजार मध्ये १५ प्रतिशत पारिश्रमिक करबाहेक ४३ हजार ३ सय ५० सम्बन्धितबाट असुल गर्नुपर्ने प्रतिवेदनमा लेखिएको छ ।
‘हाम्रो हल्दीबारी (कक्षा १–८)’ स्थानीय पाठ्यक्रम स्वीकृत गरी शैक्षिक वर्ष २०७९ बाट कार्यान्वयन गरिरहेको छ । उक्त पाठ्यक्रमअनुसार कक्षा १, २ र ३ को पाठ्यपुस्तक लेखन तथा निर्माण र प्रकाशन कार्य गरी ७ लाख १३ हजार ३ सय ९१ रुपैयाँ खर्च गरेको छ । पालिकाले पाठ्यपुस्तक लेखन तथा निर्माणका लागि लागत अनुमान तयार नगरी पालिकामा सुचिकृत विज्ञहरूमध्ये दामोदर ढुङ्गेलसहित तीन जनाबाट पेश गरेको प्रस्तावना अनुसार ३ लाख ८३ हजार ४ सय रुपैयाँमा पाठ्यपुस्तक लेखनको सम्झौता गरिएको थियो ।
प्रतिवेदन अनुसार सम्झौतामा पाठ्यपस्तकको गुणस्तरीयता सम्बन्धमा कुनै पनि सर्त सम्झौतामा उल्लेख भएको छैन । सम्झौता बमोजिम प्रस्तावकबाट पेश भएको खर्च विवरणमा कक्षा १ को २१, कक्षा २ को लागि २१ र कक्षा ३ को लागि २२ गरी जम्मा ६४ वटा पाठ संख्या लेखन तथा निर्माण गर्ने उल्लेख भएको छ ।