कनकाई र करुणा फाउण्डेशनबीच सम्झौता
बिर्तामोड । झापाको कनकाई नगरपालिका र करुणा फाउन्डेशन बीच अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ ।
मंगलवार कनकाई नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरपालिका र फाउण्डेशन बीच सम्झौता भएको हो । सम्झौता पत्रमा नगर प्रमुख राजेन्द्र पोखरेल र फाउण्डेसनका कार्यक्रम निर्देशक दिपक सापकोटाले हस्ताक्षर गरेका छन् ।
नगरमा अपाङ्गता भएका नागरिकहरुको पुनःस्थापना र अपाङ्गता हुनबाट जोगाउने उद्देश्यले सञ्चालन हुन लागेको उक्त कार्यक्रमका लागि नगरपालिका र फाउण्डेशन बीच सम्झौता भएको हो ।
कार्यक्रममा कोशी प्रदेश सरकारको सामाजिक विकास शाखा, कनकाई नगरपालिका र करुणा फाउण्डेशनको संयुक्त लगानी रहने छ । कार्यक्रम मार्फत अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना, आत्मनिर्भर बनाउने, अपाङग शिशु जन्म हुन नदिने, अपाङ्ग मैत्री वातावरण निर्माण लगायतकाका कार्य गर्ने जनाइएको छ ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरपालिकाले बर्सेनि बजेट विनियोजन गरेर अपाङ्गता भएका ब्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएको बताए । सोही क्षेत्रमा सहयोगी संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।
करुणा फाउण्डेशनका कार्यक्रम निर्देशक सापकोटाले झापामा पहिलो पटक कनकाई नगरपालिकासँग सम्झौता गरिएको बताए । कोशी प्रेदेशको ताप्लेजुङ, तेहथुम र झापाको ३० वटा पालिका र देश भर एकसय सात वटा पालिकामा कार्यक्रम सञ्चालित छ ।
कार्यक्रममा नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ, कनकाई अपाङ्गता सरोकार समाजका अध्यक्ष पुष्पलाल घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा करूणा फाउण्डेशनका अर्का कार्यक्रम निर्देशक योगेन्द्र गिरी, नेपाल सरकारका उप–सचिव तीर्थ खनाल, सन्तोष घिमिरे, करुणा फाउण्डेशनका लागि कनकाई सहजकर्ता सुरेन्द्र गिरी, नगर बाल कल्याण अधिकारी उमानाथ ढकाल, हरि पौडेल, मनिता राई, विजय पाठक लगायतको उपस्थिति रहेको थियो ।
सम्झौता कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश योजाना शाखा प्रमुख जमुना कटुवालले गर्नु भएको थियो भने सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख टिका खतिवडाले गरेकी थिइन् ।