बैशाख १४, २०८१ शुक्रबार

सुखानी शहीद उद्यानमै बन्यो व्यायामशाला

बिर्तामोड । कछुवा संरक्षण केन्द्र, शहीद उद्यान र पोखरीमा नौका बिहार गर्न आउने पर्यटकीयस्थल सुखानी स्मृति उद्यानमा व्यायमशाला निर्माणसँगै आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको उद्यानमा संघीय तथा प्रदेश सरकारको संयुक्त लगानीमा व्यायामशाला निर्माण गरिएको हो । पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माणका लागि संघ र प्रदेशले उद्यानमा गत आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेका थिए ।

सोही बजेटमध्ये सात लाखको लगानीमा व्यायामशाला निर्माण गरिएको सुखानी स्मृति उद्यानका व्यवस्थापक पुष्प तिवारीले बताए । प्रायः उद्यान घुम्न र वनभोज खानका लागि दिउँसो मात्र पर्यटक आउने उद्यानमा यतिबेला व्यायामशालामा शारीरिक व्यायाम गर्नका लागि बिहानैदेखि भीड लाग्न थालेको उनको भनाइ छ ।

शान्त र फराकिलो ठाउँ भएका कारण एक महिनाअघि मात्र स्थापना भएको व्यायामशालामा दैनिक ३० देखि ४० जना आउने गरेका छन् । व्यायाम गर्न आउनेमा युवादेखि ज्येष्ठ नागरिकसम्म रहेको स्थानीयवासी लवकुश गौतमले बताए ।

नमूना सामुदायिक वनभित्र रहेको २४.४ हेक्टरमा रहेको उद्यानमा व्यायामशालासँगै संघ र प्रदेशको बजेटबाट उद्यानभित्र बाल उद्यान, विश्रामस्थल, वनक्षेत्र वरिपरि काँडेतारको घेराबारा, कछुवाको प्रतिमा, पोखरीमा ढुङ्गे पर्खाल, चमेनागृहलगायतका भौतिक संरचना निर्माण गरिएको सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्ष देवराज घिमिरेले बताए ।

विसं २०५८ देखि प्रतिष्ठान निर्माणमा दु्रतगतिमा लागेको उद्यानमा हालसम्ममा रु पाँच करोडभन्दा धेरै लगानी भइसकेको उनले बताए । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट दुई किलोमिटर र अर्जुनधारा नगरपालिकाबाट सोही दूरीमा रहेको उद्यानमा दैनिक तीन सय बढीले अवलोकन गर्दै आएका छन् ।

सांसद पवित्रा निरौला खरेल, प्रदेशसभा सदस्य बिर्ख प्रधान, एकराज कार्कीदेखि पूर्व सांसद सिपी मैनाली, विश्वेश्वरा दाहाल, प्रेम गिरीलगायतले सांसद विकास कोषको बजेटबाट उद्यानलाई उत्कृष्ट गन्तव्यस्थल बनाउन लगानी गरेका छन् ।

तत्कालीन झापा विद्रोहका शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको शालिकसमेत रहेको यस ऐतिहासिक स्थानलाई पूर्वको नमूना पर्यटकीयस्थल बनाउन अर्जुनधारा नगरपालिकाले पहल गरिरहेको नगरप्रमुख हरि रानाले बताए । उनले भने, अर्जुनधारा नगरमा महाभारतकालीन इतिहाससँग जोडिएको पूर्वको पशुपतिनाथले परिचित अर्जुनधाराधाम र तत्कालीन झापा विद्रोहसँग जोडिएको सुखानी उद्यान अन्य पर्यटकीयस्थलभन्दा धेरै महत्व बोकेका छन् । यस क्षेत्रको पर्यापर्यटनमा हाम्रो विशेष भूमिका हुन्छ ।

विसं २०५६ मा वन विभागबाट स्वीकृति लिई पर्यटकीय स्थान बनाउन लागिपरेको उद्यानसम्म पुग्नका लागि पूर्वपश्चिम राजमार्गदेखि फराकिलो कालोपत्र गरेको सडक छ । हाल उद्यानमा दृश्यावलोकन स्तम्भ, स्वीमिङपुल बनाउनका लागि योजना अघि सारिएको अध्यक्ष घिमिरेले जानकारी दिए । उद्यानमा शहीदबारे र कुछुवा संरक्षण केन्द्रबारे अध्ययनका लागि नेपाल, भारत, भूटान र बङ्गलादेशदेखिका विद्यार्थी आउने गरेका छन् ।

खानेपानी, बिजुली, शौचालयलगायतको राम्रो व्यवस्था भएको उद्यानको वरिपरि ससाना पसलहरु प्रशस्त खुलेका छन् । यहाँ आउने पर्यटकले उनीहरुको रुचिअनुसारको नास्ता र खाना खाने गरेको उद्यानका व्यवस्थापक तिवारीले बताए । यहाँ आउने पर्यटकलाई सुरक्षा प्रदानका लागि प्रवेशद्वारमै प्रहरीको बिटसमेत राखिएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि उद्यानले पर्यटकलाई आकर्षण गर्न व्यायामशाला पनि उपयोगी हुने नगरप्रमुख रानाको भनाइ छ ।

प्रकाशित मिति : पुष २६, २०७६ शनिबार  ११ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]