जेष्ठ ३, २०८१ बिहीबार

पूर्व रक्षामन्त्री भीम रावलको अमेरिकी सेनासगको सैन्य सम्बन्ध

काठमाडौं । संविधान सभाले संविधान बनाउन नसकेर देश अन्योलग्रस्त रहेका बेला नेपालमा विदेशी प्रभाव र सक्रियता बढी नै थियो ।

अन्तर्राष्ट्रिय समुदायले नेपाललाई नजिकबाट नियालिरहेका थिए । त्यति नै बेला २०६६ जेठ ११ गते माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेस सहितको गठबन्धन सरकार बन्यो । जसमा गृहमन्त्री बने भीम रावल ।
सरकार गठन भएको एक महिना पनि नपुग्दै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी सरकारलाई २०६६ असार ४ गते बिहीबार अर्थात् जुन १८, २००९, ९:१५ बजे इमेल पठायो । जसमा लेखिएको थियो – गृहमन्त्री भीम रावल दूतावास नजिकका मान्छे हुन्, निकट सम्पर्कमा रहन्छन् । त्यो इमेलमा भीम रावललाई राम्रो राजनीतिज्ञको रुपमा समेत समावेश गरिएको थियो ।

अमेरिकी दूतावासले सरकारलाई पठाएको त्यो इमेल विकिलिक्सले २०६८ भदौ १३ गते सार्वजनिक गरेको थियो । अमेरिकी कूटनीति सम्बन्धी विश्वभरका इमेल सार्वजनिक गर्ने क्रममा विकिलिक्समा भीम रावलको सन्दर्भ समेत समावेश थियो । त्यो सन्दर्भले भीम रावललाई अमेरिकी दूतावास निकट रहेको, अमेरिकी सरकारका लागि ‘दलाली’ गरेको संकेत गर्दा रावल आक्रोशित बने ।
नेपालमा नेताले दूतावासको सम्पर्कमा रहनु, दूतावासका कार्यक्रममा सहभागी हुनु, सूचना आदानप्रदान गर्नु र पक्षमा बहस गर्नुलाई ‘दलाली’ गरेको रुपमा बुझ्ने गरिन्छ । राष्ट्रवादको चर्काे बहसमा भीम रावललाई अप्ठ्यारोमा पार्ने गरी अमेरिकी दूतावासबाट पठाइएको त्यो इमेल सार्वजनिक भयो । अमेरिकी दूतावासले पठाएको त्यो इमेल सार्वजनिक भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावल अमेरिकासँग आक्रोशित छन् । अमेरिकाले आफ्नो राजनीतिमा दाग लगाउने काम गरेको उनको बुझाइ छ । त्यही दाग मेटाउन भीम रावलले प्रयास गरिरहेका छन् । पछिल्लो पटक अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाको विरोधमा रावलले दिइरहेको चर्काे वक्तव्य त्यही दाग मेटाउने कडी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपालमा जलविद्युत् प्रसारण लाइन, सडक लगायत पूर्वाधार निर्माणका केन्द्रित रहेर विकास कार्यक्रम अगाडि बढाउने एमसीसी परियोजनालाई नेता रावलले सैन्य गठबन्धन इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै विरोध गरिरहेका छन् । नेपालको असंलग्न परराष्ट्रका कारण नेपाल सैन्य गठबन्धनमा समावेश हुन नपाइने र एमसीसी परियोजना अगाडि बढाउन नसकिने दाबी उनले गरिरहेका छन् ।

तर भीम रावल सरकारमा रहँदा उनले गरेका निर्णय र गतिविधि अहिले उनैले गरिरहेको दाबीलाई खण्डन गर्ने खालका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेता भीम रावल रक्षामन्त्री थिए । त्यतिबेला रावलले गरेको निर्णयका आधारमा हालसालै अमेरिकाबाट नेपाली सेनाका लागि दुई वटा स्काई ट्रक भित्रिएका छन् । भीम रावलकै निर्णयका आधारमा नेपाली सेनाले सैन्य सहयोग स्वीकारेको छ ।

उनी रक्षामन्त्री भएकै बेला नेपाली सेना र अमेरिकी सेनाबीच जंगल र हिमाली क्षेत्रमा हुने लडाइ र प्रतिरक्षाबारे संयुक्त सैन्य अभ्यास समेत भएका थिए । रावल रक्षामन्त्री भएकै बेला गरिएका निर्णयमा टेकेर हालसम्म पनि नेपाल र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने गरेका छन् । #काठमाडौपाटीबाट

प्रकाशित मिति : पुष २८, २०७६ सोमबार  ९ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]