के-के गर्न सकिन्छ अदुवा कोरिडोरमा ?
बद्री भट्टराई
मैले झण्डै एक बर्ष अगाडि नै अदुवा खोला कोरिडोरको बारेमा एउटा जानकारीमुलक लेख लेखेको थिए । यसमा कोरीडोर के हो, कस्तो हुन्छ भन्ने बिषयमा छलफल गरिएको थियो । कोरिडोर बनाउँदा र नबनाउँदा के कस्तो हुन सक्छ भन्ने बिषयमा समेत केही चर्चा गरिएको थियो । पक्कै पनि त्यस लेखले पाठक वर्गमा केही न केही जानकारी भयो नै भन्ने विश्वास लिएको छु । यस पटक म कोरिडोर अन्तर्गत के के गर्न सकिन्छ भनेर छलफल गराउन चाहान्छु ।
सानो ठूलो जुनसुकै रुपमा भए पनि निरन्तर बगिरहने खोला वा नदी प्राणी जगतको एक अपरिहार्य सम्पदा हो । जस्ले मूल रुपमा प्राणीलाई पानीको आपुर्ती गर्दछ । पानी प्राणीको जीवन हो । नदी खोला मानव सभ्यताका उद्गम स्थलहरु हुन् । सिन्धु घाटी, नाइल नदी किनार आदिमा मानव सभ्यता जस्तो त पक्कै हुँदैन नै अदुवा खोलाको महत्त्व । तथापि यसको महत्त्व वर्णन गरिनसक्नुको हुन सक्छ । सोच्दै जाँदा, गर्दै जाँदा ।
आधुनिक जमानामा नदीबाट उत्पन्न हुने ढुंगा, गिटी र बालुवा पनि मानव जीवनमा अपरिहार्य बनेका छन् । पशु पंछीले पिउने पानी, सिचाइँ, हाइड्रो पावर उत्पादन आदिका दृष्टिले नदी वा पानीको महत्त्व साच्चिकै बयान गरी नसक्नु नै हुन जान्छ । शहर नजिक भएर बग्ने नदीहरुको आवश्यकता र महत्त्वको चर्चा झन् कति लेखेर वा भनेर साध्य छैन । सबैलाई थाहा भएकै बिषय भएको हुनाले यहाँ म यस बिषयमा धेरै चर्चा गर्न चाहन्न ।
बिर्तामोड पूर्वकै एउटा ठूलो शहरको रुपमा विकसित हुँदै गइरहेको छ । घर र जनसंख्या बृद्धिसँगै फोहोर जन्यवस्तुको उत्पादन र जथाभाबी बिसर्जन समस्याको रुपमा देखा परेका छन् । फोहोरलाई राम्ररी बुझ्न नसक्दा हामी सबैले समस्या झेलिरहेका छाँै । अदुवा खोलामा आउने पानीको स्रोत सानो र दिगो नभएका कारण अनि खोला अतिक्रमण र फोहोर बिसर्जन पनि खोलामै गरिनुले आसपासको जनजीवन अस्तव्यस्त बन्दै गएको कुरा चिन्ताजनक हुदै गइरहेको छ ।
शहर बिकास हुँदै जादा ट्राफिक जाम पनि आजको मुख्य समस्या बन्दै गइरहेका छ । शहरमा घरैघर मात्र हुने र हरियाली खोज्न अली टाढै जानुपर्ने भएकोले बुढापाका, असक्त र बालबालिकाका लागि यो कोरिडोर अपरिहार्य बन्दै गइरहेको छ । यि सबै कुराको एकमुष्ट समाधान नै कोरिडोरको विकास र सम्बर्धन हो । कोरिडोर अन्तर्गत गर्नुपर्ने कार्यहरु संक्षिप्तमा तपशिल बमोजिम उल्लेख गर्ने अनुमती चाहान्छु ।
खोलाको दुवै किनारामा बाटो :
खोलाको व्यवस्थित तटबन्धन गर्ने, कटान रोक्ने र दुवै किनारामा साना सवारी साधन आवत जावत गर्न सक्ने स्तरीय बाटो निर्माण । जुन कार्यको थालनी भइसकेको छ । यो कार्य सुरुमा शहरको मुख्य घना घर र जनसंख्या भएको क्षेत्रबाट हुनेछ, भइरहेको छ । हाल यो बितामोडबाट सुरु भएको छ । क्रमशः यो अर्जुनधारा तर्फ बिस्तार हुनेछ । यसका लागि आवश्यक मापदण्ड बिर्तामोड नगरपालिकाले बनाइसकेको छ । अर्जुनधाराले अब तुरुन्तै बनाउनु पर्ने देखिन्छ ।
ग्रिनवेल्ट निर्माण :
खोलाको दुवै किनाराको भागमा बढिमा १० फुटको दुरीमा फल तथा फूलका विरुवा रोप्ने र हरियाली वातावरण बनाउने । शहरको रापिलो गर्मी छल्ने खालको खास गरी बुढापाका र बालबालिकाका लागि सुरक्षित गन्तव्य बनाउने । विरुवा जोगाउन बारको ब्यवसथा मिलाउने । खोलामा केटाकेटी लगाएतका अन्य पशुपंछीहरु पस्न वा खस्न नसक्ने गरी रेलिङको व्यवस्था गर्ने ।
चौतारा निर्माण :
विहान वेलुका र दिउँसोको चर्को घाममा समेत लौरो टेक्दै टेक्दै बुढापाकाहरु हिन्डुल गर्न, एक–एक क्षणमा थकाइ मार्दै पुनः हिड्दै गर्न कतिपय छानो सहितको चौताराहरु हरेक ५०० मिटरमा बनाउदै जाने । नव युवायुवतीहरुका लागि ठाउँ–ठाउँमा सेल्फी खिच्ने स्टलहरुको व्यवस्था गर्ने ।
चिल्ड्रेन पार्कको व्यवस्था :
खोला किनारको अलि फराकिलो भागमा साना साना बच्चाहरु खेल्न र रमाउन सक्ने पार्कको ब्यवस्थापन गर्ने । जसले गर्दा अत्यन्त कम आय भएका अभिभावकहरुको पहुँचमा समेत यि पार्कहरुले सुविधा दिन सकुन ।
स्वथ्य र सुरक्षित ढल व्यवस्थापन, स्वच्छ र सफा पानी :
शहरबासीको घर घरबाट उत्पन्न हुने फोहोर जो नाला मार्फत खोलामा फालिन्छ । त्यसलाई खोलाको दुवै तर्फ ठूला–ठूला पाईपमा मिसाउने, पानीमा खस्न नदिने र बस्ती भन्दा धेरै टाढा त्यसलाइ व्यवस्थापन गर्ने । जसका कारण पानी सफा र स्वच्छ राखिराख्न सकियोस् ।
सरसफाई अभियान :
पानी स्वच्छ राख्नु हामी सबैको मूल कर्तब्य हो । खोलामा फोहोर फ्याक्न नदिनु पनि उत्तिकै आवश्यक छ । त्यसैले शहरबासीमा चेतना नआउन्जेल जनचेतना अभियानका साथै व्यापक रुपमा सरसफाई अभियान संचालन गर्नु पर्दछ । खोला भित्र फालिएका सबै फोहोरहरु निकाल्नु पर्दछ । यो अभियान जबसम्म चेतना आएर जनता आफैले स्वचालित रुपमा गर्न सक्दैनन् तबसम्म नै गरिरहनु पर्दछ ।
व्यवस्थित कुलो, पैनी र नहरको व्यवस्था :
यस खोला र आसपासका केही भागबाट अर्जुनधारा नगरपालिकाको प्रायः सबै क्षेत्र र बिर्तामोड नगरपालिकाको दक्षिणी क्षेत्रमा पुग्ने गरि आवस्यक कुलो पैनी र नहरको व्यवस्थापन गर्ने । जस्ले गर्दा किसानहरुको आय स्तरलाई बढाउन सकियोस् । खास गरी अदुवा खोलाको मुहान, कालिस्थान नजिकको देवीथान भन्दा तलतिरको अर्जुनधारा ९ र ६ का कृषियोग्य जमिनमा सिचाइँ पुग्ने गरि आवश्यक कुलो पैनी र नहरको व्यवस्था गर्ने ।
त्यसैगरी उहिले नै धर्म प्रसाद ढकालको कामतमा सिंचाइकालागि प्रयोग गर्ने गरेको हात्तीकिला पैनी जसलाई ठाउँ–ठाउँमा विन्दुली पैनी, सात पत्रे खोला आदिले समेत चिनिने गर्दछ । यो पैनी सामान्य पैनीकै रुपमा चलिरहे पनि केही बर्ष अगाडि माथि विरिङ खोलाको विन्दुली बाध फुटे पछि भने यसले खोलाको रुप धारण गरिसकेको अवस्था छ । यसले विरिङ पुर्वका अर्जुनधारा खासगरी पुरानो शनिश्चरे हाल अर्जुनधारा ६, ८ र ९ त्यसै गरी हालको बुद्धशान्ति २ का अधिकांस भागमा सिचाइँ सुविधा पु¥याउन सकिन्छ । हालको अस्थाई प्रकृतिको यो कुलोलाई व्यवस्थित गर्न आवश्यक छ । हाल यो पैनी मदन भण्डारी मार्ग भन्दा केही मास्तिरबाट अस्थाई रुपमा जनताले बडा दुःखका साथ ल्याएको र प्रयोग गरिरहेको अवस्था छ ।
ड्याम्प निर्माण र बोटिङ :
जमिनको सतह मिलेका ठाउँहरुमा पानीका ठूला–ठूला पोखरी निर्माण गर्ने । वर्षायामको पानी संचित गरि राख्ने र आवश्यकता अनुसार हिउँदमा यसलाई प्रयोग गर्ने । व्यवसायिक रुपमा माछा पालन र बोटिङ संचालन गर्ने जसले आन्तरिक पर्यटकहरु आकर्षित हुन्छन् ।
अदुवा खोलालाई कलकल बग्ने खोलाको रुपमा बिकास
हाल अदुवा खोलामा जेजति पानी बगेको छ यो मात्रा पर्याप्त छैन । अहिले नै पनि हिउँदमा यो खोलामा काठमाडौंको टुकुचामा जस्तो लेदो बग्ने गरेको पाइएको छ । त्यसैले यस खोलामा पानीको मात्रा बृद्घि गर्नु अति आवश्यक भैसकेको छ । पानीको मात्रा बढाउने कुरा गरिरहदा सम्भावित बाढी, माथिल्लो क्षेत्रमा पानीको अभाव आदिका सन्दर्भमा हेक्का भने राख्नै पर्दछ । यि सबैे कुराको सन्तुलन मिलाउँदै वर्षायामको पानी संचित गरेर हुन्छ की बिरिङको पानी सुरक्षित ढंगले नहरको रुपमा ल्याएर हुन्छ अदुवामा कलकल बग्ने गरी पानीको व्यवस्था गर्नै पर्दछ ।
उल्लेखित सबै कामलाई व्यवस्थित ढंगले गर्न स्थानीय, प्रदेश र संघीय सरकारको उचित ध्यान जान आवश्यक छ । यि कामहरुलाई समयमा, मितव्ययी, भ्रष्टाचार रहित, छिटो छरितो ढंगले कार्य संचालन गर्न, अनुगमन निरीक्षण गर्न एक संंयन्त्रको विकास गर्ने ।