बैशाख १४, २०८१ शुक्रबार

आस्था नेपाल आएलगत्तै प्रहरीले बोलाउने !

काठमाडौं । गायिका आस्था राउत र प्रहरीबीच बुधबार त्रिभुवन विमानस्थलमा भएको विवाद अझै सेलाएको छैन ।

भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको गायिका राउतको आरोप छ ।

उनले सामाजिक सञ्जाल फेसबकुमार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीले पनि उक्त विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

“हामीले हेरेको सीसीटीभी फुटेजमा आस्थाकै गल्ती देखिन्छ,” प्रहरी स्रोतले भन्यो, “उनले नै प्रहरीलाई नै अझै गाली गलौज गरेकी छन् । भएको के हो भन्ने बारेमा उनी नेपाल आएपछि हामीले बोलाउँछौं ।”

विमानस्थलमा खटिएकी प्रहरी जवानले उनीविरुद्ध निवेदन दर्ता गरेको भए पनि मुद्दा भने दर्ता भइसकेको छैन ।

“अहिलेसम्म मुद्दा दर्ता भएको छैन,”प्रहरी स्रोतले भन्यो, “मुद्दा नै दर्ता भएको भए पक्राउ गरिन्थ्यो । अहिले बोलाउने तयारी मात्रै गरिएको छ ।”

विमानस्थल स्रोतबाट बाह्रखरीलाई प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

आस्थाले आफूलाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै केही शब्द आफूले पनि नबोलेको भए पनि हुने उल्लेख गरेकी छन् । बाह्रखरीसँगको कुराकानीमा उनले भनेकी छन्, “जे भएको हो त्यो कुरा मैले भिडियोमा भनिसकेको छु । सहनै नसक्ने दुर्व्यवहार भएका कारण मैले भिडियोमार्फत् भएको कुरा बाहिर ल्याएको हुँ । भिडियोमा प्रयोग भएका दुईचार शब्द पक्कै पनि मैले प्रयोग नगरेको भए हुने थियो जस्तो अहिले लागेको छ । तर त्यति ठूलो गल्ती नै भने मैले गरे जस्तो लाग्दैन । मैले जे भोगेँ त्यो कुरा भनेकी हुँ ।”

फ्लाइट डिले हुने भएपछि विमानस्थल परिसरमै कफी पिएर बसिरहेको अवस्थामा बुद्ध एअरका कर्मचारीले बोलाएपछि हतारमा कफी बोकेरै चेकिङतर्फ जाँदा चेकिङमा महिला प्रहरीले आफूलाई अपमानजनक व्यवहार गरेको उनको भनाइ छ । 

“चेकिङमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भनेपछि मैले प्लेन छुट्न लागेको बताउँदै ज्याकेट नखोले हुँदैन भनेर सोधेँ,” आस्था भन्छिन्, “तर मलाई त्यहीँ अपशब्द प्रयोग गर्दै हात नै हाल्ने काम भयो । मलाई तँ भनेकोमा चित्त दुखाइ होइन हात हालेको मन परेन ।”

जाँच गर्दा महिला प्रहरीले नै कफी राखिदिएको र आफूले हतार भएका कारण लैजान्न भनेपछि ‘लैजा ! नलगे तेरो ब्यागमा खन्याइदिन्छु’ भनेपछि आफूले प्रहरीबाटै दुर्व्यवहारको महसुस गरेको उनको भनाइ छ ।  

उता महिला प्रहरी जवान रमीता श्रेष्ठले भने आस्थालाई कारवाहीको माग गरेकी छन् । विमानस्थल प्रहरी कार्यालयमार्फत् उनले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई निवेदन लेख्दै कारवाहीको माग गरेकी हुन् ।

प्रकाशित मिति : माघ ५, २०७६ आईतबार  ८ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]