बैशाख १३, २०८१ बिहीबार

डोमालाल रंगशालाको जग्गा आफ्नो बनाउने भू–माफियाको षडयन्त्र असफल

विर्तामोड । झापा विर्तामोडको वडा नम्वर ३ मा रहेको प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गा आफ्नो नाममा बनाउने भू–माफियाको षडयन्त्र असफल भएको तथ्य फेला परेको छ ।
नेपाल सरकारको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापामा रहेको अभिलेखमा निजी गुठी ‘अनारमनी दुर्गा गुठी स्थान’को नाममा १२ विगाहा १ कठ्ठा ७ धुर जग्गा कायम रहेको तथ्य फेला परेको हो ।

७ कित्तामा रहेको जग्गामध्ये कित्ता नम्वर ११९ को १ विगाहा १७ कठ्ठा १० धुरमा झलकबहादुर खड्का, कित्ता नम्वर १२१ को २ विगाहा १० कठ्ठामा झलकबहादुर खड्का क्षेत्री, कित्ता नम्वर १३० को ७ कठ्ठा १२ धुरमा बृषबहादुर मगर र कित्ता नम्वर ७०१ को २ कठ्ठा १० धुरमा झलक बहादुर खड्का मोही रहेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ । गुठीको जग्गामध्ये ४ विगाहा १७ कठ्ठा १२ धुरमा मोही कायम रहेको देखिएको छ ।

‘अनारमनी दुर्गा गुठी स्थान’को नाममा रहेको कित्ता नम्वर १२० को १ विगाहा, २ कठ्ठा १० धुर, कित्ता नम्वर १२२ को ३ विगाहा ४ कठ्ठा १० धुर र कित्ता नम्वर ११८ को २ विगाहा १६ कठ्ठा १५ धुर गरी ७ विगाहा ३ कठ्ठा १५ धुर जग्गामा कुनै मोही रहेको छैन ।

‘सबै जग्गाको धनिपुर्जा रमेश महर्जन लगायतको नाममा गइसकेको भनेर तथ्यलाई गुमराहमा राख्ने प्रयत्न भइरहेको थियो’, स्थानीय पत्रकार गणेश पोखरेलले भन्नुभयो, ‘भू–माफियासँग जग्गा किन्नु पर्छ भन्ने अभियान पनि चल्दै थियो, तर यथार्थ अर्कै रहेछ ।’ जग्गाको धनीपुर्जा ‘अनारमनी दुर्गा गुठी स्थान’को नाममा छ । मालपोत कार्यालयले जग्गाको श्रेस्ता बचाउ गर्न सहयोग गरेको छ । भू–माफियाले उल्लेखित मोहीबाट मोहीहक खरिद गर्दा पनि २ विगाहा ८ कठ्ठा १६ धुर प्राप्त गर्ने तथ्य छ । तर, यो तथ्यलाई अन्यत्र मोड्न केही मान्छे लागेका छन् ।

‘जग्गाको संरक्षण गरी रंगशाला निर्माणमा यो तथ्यले अवरोध देखिँदैन’, नेपाली कांग्रेस झापा क्षेत्र नम्वर २ सह–सभापति तथा प्रदेश निर्वाचन क्षेत्र नम्वर १ का सभापति धर्म लक्सम्वाले भन्नुभयो, ‘यो जग्गामा मोहीको जग्गा दिएर पनि बाँकी रहेको १० विगाहा १२ कठ्ठा ११ धुर जग्गामा रंगशाला बनाउन सकिन्छ, त्यसका लागि जग्गाको प्रयोगबारे स्थानीय तहले सक्रियता देखाउन र कानुनी प्रक्रिया पूरा गर्न लाग्नुपर्छ ।’

‘जग्गा संरक्षणमा कुनै कसर बाँकी राख्ने छैनौं’, विर्तामोडका उपमेयर पवित्रा महतारा प्रसाईंले भन्नुभयो, ‘अनारमनी दुर्गा गुठी स्थानको जग्गाको संरक्षण र प्रयोगबारे हामी गम्भीर छौं ।’ उहाँले यसको सबै अध्ययन र नगरले चाल्नु पर्ने कदमका बारे सुझाव दिन विज्ञको राय समेत लिने बताउनु भएको छ ।

नेपाली कांग्रेस झापाका जिल्ला सदस्य एवम् झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले डोमालाल राजवंशी रंगशाला निर्माण गर्न सबै पक्ष एकजुट हुनु पर्ने बताउनु भएको छ । झापा क्षेत्र नम्वर २ का संघीय सांसद पवित्रा निरौला खरेलले गुठीको जग्गा संरक्षण र रंगशाला निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

अदालतले रंगशालाको कित्ता नम्वर १२० को एक विगाहा दुई कठ्ठा १० धुर भनेको जग्गा अनारमनी दुर्गा गुठी स्थानकै नाममा रहेको पाइएको छ । तर, ८२२ को ६ कठ्ठा, ८२५ को १३ कठ्ठा र ८१५ को ७ कठ्ठा टीकादेवी विमलीको नाममा दर्ता गराउनु भनेर उल्लेख गरेको जग्गाका बारे नगरपालिकाले खोजी गर्न आवश्यक छ । कित्ता नम्वर ८२० को ८ कठ्ठा रमेश महर्जनको नाममा र ८१२ को ७ कठ्ठा सूर्यकुमार विमलीको नाममा खरिद गरेको अदालतको पत्रमा उल्लेख भएकाले सोको पनि खोजी गर्न आवश्यक छ । सूर्य मगर र शान्तिदेवी खड्काका नामबाट मोही खरिद गरेको भनिएको जग्गा र मालपोतमा भएको तथ्यांक नमिलेकाले सोको यथार्थ पनि खोज्न आवश्यक देखिएको छ ।

‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोगले यो कामलाई निष्कर्षमा पुर्याउने हाम्रो अपेक्षा छ’, झापा ११ का अध्यक्ष जलकुमार गुरुङले भन्नुभयो, ‘विर्तामोडमा यो जग्गामा रंगशाला निर्माणको विकल्प छैन ।’

भुमिसुधार ऐन २०२१ को दफा २९ को उपदफा १ मा दैबी बिपत्ती परी बालीनाली नास भएमा वा उत्पादन हुन नसकेको खण्डमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुरी दिएमा मोहीयानी हक समाप्त हुने उल्लेख छ । यस्तै एक बर्षसम्म खेती नगरेमा वा खेतीमा हेलचेक्रयाँई गरेमा समेत मोहीयानी हक समाप्त हुने भुमिसुधार ऐनमा उल्लेख छ । त्यसैले अनारमनी दुर्गा स्थानको जग्गामा मोही हक समेत नरहने तथ्यले देखाएको छ ।

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]