झापामा नेकपा एसलाई धक्का : युवा संघका जिल्ला अध्यक्षसहित ४० जना एमाले प्रवेश
बिर्तामोड । नेकपा समाजवादीको युवा संघ झापाका अध्यक्ष सहित ४० जना युवा एमालेमा प्रवेश गरेका छन् । युवा संघ झापाका अध्यक्ष सुनिल थापाको नेतृत्वमा युवाहरु एमाले प्रवेश गरेका हुन् ।
आज विहान एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष प्रेम गिरी, बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले युवाहरुलाई स्वागत गरेका छन् । थापासहित युवा संघका केन्द्रीय सदस्य एवम् नेकपा एसका जिल्ला कमिटी सदस्य राजन थापा, युवा संघका जिल्ला सदस्यहरु एमालेमा प्रवेश गरेका हुन् । युवा संघको जिल्ला कमिटीमा रहेका २० जनाभन्दा बढि युवा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् ।
यसअघि नै नेकपा एसको युवा संघ केन्द्रीय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज खगेन्द्र प्रसाद बाराकोटी एमाले प्रवेश गरिसकेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै बाराकोटीले आफुहरु घर फर्किएको बताएका हुन् । उनले हिजोको दिनमा गल्ती भएको भन्दै अब आफ्नो घर फर्किएर काममा लाग्ने प्रतिवद्धता जनाए ।
पार्टीमा स्वागत गर्दै नेकपा एमाले झापाका अध्यक्ष गिरीले युवाहरुको स्वागतले एमाले थप बलियो भएको बताए । उनले एमाले झन्झन् हुँदै गएकोमा खुशी व्यक्त गरे । अध्यक्ष गिरीले सबै युवाहरुलाई अवसर र जिम्मेवारी दिने सवालमा कहिल्यै विभेद नहुने बताएका छन् ।