चैत्र १५, २०८० बिहीबार

श्रम ऐन कार्यान्वयन नभएपछि इस्टुद्वारा आन्दोलनको घोषणा

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले सामाजिक सुरक्षा योजना तथा वर्तमान श्रम ऐन कार्यान्वयमा ल्याउन आन्दोलनमा उत्रने घोषणा गरेको छ । श्रम ऐन तथा सामाजिक सुरक्षा ऐन जारी भएको महिनौं व्यतित हुँदा समेत विद्यालय सञ्चालक कार्यान्वयनमा उदासिन भएको युनियनको केन्द्र, प्रदेश र जिल्ला समितिको ठहरलाई सदर गर्दै नगर समितिले आन्दोलनमा उत्रने निर्णय गरेको हो ।

युनियनका भद्रपुर नगरपालिका अध्यक्ष द्रोण अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले पहिलो चरणमा नगरपालिका क्षेत्रमा रहेका संस्थागत विद्यालयमा कार्यरत कर्मचारी, सवारी चालक, सहचालक तथा शिक्षकहरूको नियुक्ति पत्र सहितको दरबन्दी विवरण नगर शिक्षा कार्यालय मार्फत अद्यावधिक गर्न सहकार्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयनका लागि गत भदौमा बुझाइएको ध्यानाकर्षण पत्र कार्यान्वयन गर्न नगर सरकारले खेलेको भूमिकाको खोजी गर्ने, सरकारले कार्यान्वयनका लागि लागू गरेको सामाजिक सुरक्षा योजना सफल पार्न सरोकारवालासित नगर सरकारलाई समन्वयकारी भूमिका खोजी गर्न दबावमुलक आन्दोलनमा जाने निर्णय गरेको हो ।
बौद्धिक श्रमिकका रूपमा रहेका संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, चालक, सहचालक लगायतलाई सामाजिक सुरक्षा योजनामा सहभागिता नगराएको तथा श्रम ऐन जारी भएको महिनौ वितिसक्दा पनि विद्यालय सञ्चालकहरू कार्यान्वयनमा उदासिन भएपछि युनियनको केन्द्रदेखि स्थानीय तह सम्मका समिति आन्दोलनमा उत्रने अवस्था सिर्जना भएको हो ।

संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले कार्यसमिति बैठकमार्फत आगामी रणनीतितय गर्दै पहिलो चरणमा नगर सरकारलाई आफूसित भएको अधिकार प्रयोग गरी संस्थागत विद्यालयलाई प्रचलित ऐन कानुनको दायरामा ल्याउन सहकार्य कार्यक्रम मार्फत दवावमुलक कार्यक्रम गर्ने निर्णय सार्वजनिक गरेको छ ।

वर्तमान ऐनमा व्यवस्था गरिएको अनिवार्य चाडपर्व खर्च प्रदान गर्न बेवास्ता गरिएको, नियुक्तिपत्र नदिइ वर्षैंदेखि काम लगाइरहेको, विदा सुविधामा एकरूपता कायम नभएको, श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक रू १३४५०। कार्यान्वयन नगरिएको, खाइपाइ आएको तलवलाई तहगत स्तर अनुसार कायम गरी न्यूनतम पारिश्रमिक नघट्ने गरी योगदानमा आधारित पेन्सन कार्यक्रममा सहभागिता नजनाइएको लगायत समस्याको हल गर्न संस्थागत विद्यालय सञ्चालकले बेवास्ता गरेको ठहर सहित आन्दोलनमा जाने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा सरकार समेत कमजोर देखिनुले वर्तमान अवस्थामा हजारौं श्रमजीवि शिक्षक, कर्मचारीको कानुनी अधिकार हनन् गरिएकोमा चिन्ता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : माघ ८, २०७६ बुधबार  ८ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]