सिम्रिक सहकारीको इकाइगत साधारणसभा जारी
झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) बिर्तामोडले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । मंगलवार सिम्रिक सहकारीले दमकमा इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।
झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकोसले आइतबारदेखि इकाइगत साधारणसभा सुरु गरेको हो ।
मंगलवार दमक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कुबेर प्रसाद भट्टराईको प्रमुख आतिथ्यता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको विशिष्ठ आतिथ्यतामा गोर्खा डिपार्टमेन्ट स्टोर दमकको सभाहलमा तेश्रो ईकाइगत साधारणसभा सम्पन्न भएको हो ।
दमक इकाइ अन्तर्गतका ५ वटा सेवा केन्द्रहरुबाट शेयरसदस्यहरुको उपस्थितिमा संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५ सय ८३ रुपैया ४ पैसा बराबरको वासलात तथा आ.व. २०८१÷०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १ सय ३६ रुपैयाँ १० पैसा बराबरको अनुमानित बजेट सहितको संचालक समितिद्वारा तयार पारिएको प्रतिवेदनलाई प्रस्तुत गरेका थिए भने कार्यक्रमको औचित्य तथा नीतिगत योजनाहरुलाई संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले प्रष्ट पारेका थिए ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्दै संस्थागत प्रतिफलमा विशेष योगदान पुर्याउने ३ जना शेयर सदस्यहरु चन्द्र सापकोटा, मनोज राई र देवी माया ओलीलाई जनही ५ हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको बताइएको छ ।
सिम्रिकको इलाममा आइतबार , मोरङको पथरीशनिश्चरेमा सोमवार दोस्रो इकाइगत साधारणसभा गरिएको संस्थाको आइटी विभागका विजय पाण्डेले जानकारी दिएका छन् ।
सिटी हल इलाममा आइतबार सम्पन्न प्रथम इकाइगत साधारणसभाको प्रमुख आतिथ्य इलाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ रहेका थिए । उक्त इकाइगत साधारणसभामा इलाम र पाँचथर अन्तर्गतका ११ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।