युवा उद्यमी मञ्च झापाको स्वास्थ्य शिविरमा चार सय जना लाभान्वित
बिर्तामोड । झापाको दक्षिणी क्षेत्र बाह्रदशी गाउँपालिका –१ भागडुब्बामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) झापा च्याप्टरले आयोजना गरेको स्वास्थ्य शिविरमा ४ सयभन्दा बढि स्थानीयवासी लाभान्वित भएका छन् । उनीहरुले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएका छन् ।
आज बिहानबाट सञ्चालित शिविरमा विद्यार्थीसहित विपन्न नागरिकहरुले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य शिविर बिराट क्यान्सर इन्स्टिच्युट र बिराट टिचिङ अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न गरिएको आयोजना संस्थाका उपाध्यक्ष गणेश पौडेलले जानकारी दिए । बिराट टिचिङका चिकित्सकसहित १० जनाको टोलीले स्वास्थ्य जाँच सहित सेवा दिएको थियो ।
सो शिविरमा जनरल फिजिसियन, बालरोग, गाइनो ,हड्डी ,पाठेघरको मुख र स्तन क्यान्सर सम्बन्धी स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको थियो । उपाध्यक्ष पौडेलका अनुसार चारआलीस्थित नेपाली सेनाको अरीदमन गणबाट उपस्थिति प्राविधिकहरुले सर्पदंश सम्बन्धी जानकारी दिएका थिए । उनीहरुले सर्पको टोकाई पछि के गर्न हुन्छ, हुदैन भन्ने बारेमा सचेत गराएका थिए ।
युवा उद्यमीहरुको साझा संस्था नेपाली युवा उद्यमी मञ्च झापाले सामाजिक सेवालाई निरन्तरता दिदैं जाने अध्यक्ष डाक्टर रुपेशजंग बेलबासेले जानकारी दिए । उनले गरिव, विपन्नहरुको स्वास्थ्य उपचारमा सेवामा पहुँच कम हुन सक्ने संभावनालाई मध्यनजगर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।