कार्तिक २२, २०८१ बिहीबार

बिर्तामोडका सुनचाँदी व्यवसायी भन्छन् – अस्थिर मुल्यले व्यापार प्रभावित

बिर्तामोड । कोभिड र त्यसपछिको आर्थिक मन्दीले प्रभावित भइरहेको सुनचाँदी व्यवसाय अस्थिर मुल्यले झनै समस्या थपेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले अस्थिर मुल्यकै कारण कारोवार घटिरहेको बताए ।

करिव ५ सय व्यवसायी रहेको झापामा सुनचाँदीको व्यवसाय घट्दो क्रममा रहेको व्यवसायीहरुको धारणा छ । सुनको आकासिदो मुल्यले खरिदकर्ताहरु घट्दै गइरहेको बताइएको छ । व्यवसायीहरुका अनुसार महंगीले धेरै सुन किन्नेहरु अहिले काम चलाउन मात्रै खरिद गरिरहेको बताउँछन् ।

५०-६० हजार तोला सुन हुँदा विवाहमा ५ तोलासम्मको गहना बनाउने गरिन्थ्यो भने अहिले २ तोलामा काम चलाउन थालिएको छ, व्यवसायीहरु भन्छन् – सुनचाँदीको कारोवार ५० प्रतिशतले ह्रास आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले सिजनमा ७-८ केजीसम्म सुनको कारोवार हुने बताए । उनका अनुसार अहिले २÷३ केजीमा झरेको छ । भन्सार वृद्धि र आर्थिक मन्दीको प्रभावले सुनचाँदी व्यवसाय विगतमा जस्तो नभएको उनको भनाई छ ।

पछिल्लो समय सीमा क्षेत्रका जिल्लाहरुमा अझै धेरै व्यापारमा समस्या भइरहेको व्यवसायीहरुको धारणा छ । भारतीय बजार जाने र गहना बनाएर आउनेहरुको संख्या बढ्दो छ । भारतीय बजारमा बनाएर लगाएको गहना अवैध हुने व्यवसायीहरु बताउँछन् । यस सन्दर्भमा अध्यक्ष बराइलीले भने – नेपाली बजारमा बनाएको गहनाको मात्रै व्यवसायीहरु जिम्मेवार हुनुहुन्छ । देशबाहिरबाट ल्याइएको गहनामा व्यवसायीहरु जिम्मेवारी बन्न सक्नु हुन्न । स्थानीय व्यवसायीहरु भन्छन्, केही पैसा सस्तो हुने लोभमा परेर अवैध रुपमा गहना नबनाऔं ।
यहाँ व्यवसायीहरुले वैधानिक रुपमा खरिद गरेको सुनबाट बनाइने गहना लगाउदा मात्र आफ्नो सुन पनि सुरक्षित हुने अधिकांशको धारणा छ ।

जिल्लामा दमक बाहेक ७ वटा पालिकामा व्यवसायी संघको उपशाखाहरु रहेका छन् । दमकमा व्यवसायीहरुको स्वायत्त संस्था रहेको छ । झापामा सुनसाँदी व्यवसायबाट दुई हजारभन्दा धेरै युवाहरुले रोजगारी पाएका छन् । रोजगारी गर्नेहरुले न्यूनतम २५ हजारभन्दा माथि आम्दानी गर्दै आएका छन् ।
बिर्तामोडस्थित धमला गहना गृहका सञ्चालक तेजकुमार धमलाले मुल्य बढेपछि व्यापार ‘स्लो’ भएको बताए । उनले दशैं नजिक आएसँगै व्यापार बढ्ने आशा गरेका छन् ।

प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार  ११ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]