बैशाख १४, २०८१ शुक्रबार

कृषिमा आधुनिक प्रविधि विस्तार गर्दै शिवसताक्षी नगरपालिका


शिवसताक्षी । शिवसताक्षी नगरपालिका-१० का श्याम श्रेष्ठ शारीरिक रुपमा अशक्त छन्। उनको दायाँ खुट्टाले सहजै भुइँ टेक्दैन। तर, पनि उनी कृषि पेशामा सक्रिय छन्। मंगलबार नगरपालिकामै उनलाई बालीमा औषधी छर्कने उपकरण नगरले अनुदानमा दियो।

उनले भने, ‘यसअघि कुचोले बालीमा औषधी छर्किन्थें, अब मेसिनबाट स्प्रे गर्छु।’आफ्नो थोरै जमिनमा तरकारीबाली गर्ने श्रेष्ठले अब परम्परागत कृषि पेशा छोडेर आधुनिक कृषि प्रणाली अंगाल्ने बताए। उनले भने, ‘आफैंलाई मात्र पुग्ने गर्थें, अब गाउँलाई नै पुग्ने गरी खेती गर्छु।’

लक्ष्मीकान्त ढकाल शिवसताक्षी-३ का किसान हुन्। ढकाल पाथिभरा कृषि समूहमा आवद्ध छन्। सामूहिक खेती प्रणालीका लागि उनको समूहले ५० प्रतिशत अनुदानमा खेत जोत्ने पावर टेलर पायो।

यस्तै, सोही समूहले धान काट्ने र मकै छोडाउने मेसिन पनि पायो। नगरले आधुनिक खेती प्रणालीतर्फ किसानलाई उत्साहित बनाउन कृषि उपकरण विगत वर्षदेखि नै प्रदान गर्दै आएको छ। कृषि उपकरण थाप्दै दंग परेका किसानले भने, ‘कुटो कोदालोको जमना गएको महसुस भयो।’

शिवसताक्षी नगरले नगरका ११ वटै वडाका क्रियाशिल कृषि समूह र किसानका लागि मंगलबार कृषि उपकरण प्रदान गरेको छ। ५० प्रतिशत अनुदानमा नगरका ३७ कृषक समूहले औषधी छर्कने स्प्रे पाएका छन्। समूह दर्ताको प्रतिलिपि, समूहको छाप र माइन्युट नगरको कृषि शाखामा पेस गरेपछि किसान समूह अनुदानमा औजार पाउन योग्य मानिन्छन्।

तथ्यांक अनुसार ८६ प्रतिशत नगरबासी कृषि पेशामा क्रियाशिल छन्। सम्बन्धित वडाको सिफारिस र नगरको अनुगमनका आधारमा किसानले उपकरण पाएका छन्। शिवसताक्षी नगरपालिका र नगरका क्रियाशिल समूह र किसानको ३५ लाख ५१ हजार १ सय ७५ रुपैयाँको लागतमा कृषि उपकरण वितरण गरिएको हो।

नगरले चालु वर्षमा २२ जना किसानलाई मकै छोडाउने मेसिन दिएको छ। यस्तै, २७ किसानलाई मकै रोप्ने मेसिन प्रदान गरेको शिवसताक्षी नगरको कृषि शाखाले जनाएको छ।

नगरले कृषि समूहका लागि शतप्रतिशत अनुदानमा २३ वटा कृषक समूहलाई साना सिचाइँ मोटर प्रदान गरेको छ। यस्तै, २२ कृषि समूहका लागि नगरले ७५ प्रतिशत अनुदानमा धान काट्ने मेसिन प्रदान गरेको छ। ५० प्रतिशत अनुदानमा २२ किसान समूहले पावर टेलर पाएका छन्।

शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले ‘व्यावसायिक खेती गरिरहेका किसानहरूलाई राहत पुग्नेगरी समूह र व्यक्तिगत फर्महरूलाई अनुदानमा कृषि सामग्री प्रदान गरिएको बताए। कृषि क्षेत्रलाई नगरले प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै नगरप्रमुख शेर्माले भने, ‘व्यावसायिक रुपमा कृषि पेशामा थप अनुदानका कार्यक्रम पछिल्ला वर्षमा ल्याउँछौं ।’

उनले परम्परागत खेती र विषादीयुक्त औषधी प्रयोगले नगरका हरेक गाउँमा क्यानसर, मिर्गौला, मधुमेह लगायतका रोग दिनहुँ बढ्ने गरेको बताए। उनले भने, ‘कुटो कोदालो प्रयोग गर्ने जमना अब गए।’

नगरलाई कृषि क्षेत्रको माध्यमबाट पहिचान स्थापित गर्न किसानको भूमिका प्रमुख हुने भन्दै आउने दिनमा थप कार्यक्रम नगरले ल्याउने बताए।

नगरका योजना अधिकृत प्रकाश चौधरीले व्यावसायिक रुपमा किसानले तरकारी खेती गरे कामका लागि विदेशिनु नपर्ने बताए। ‘तपाईं किसानहरूलाई कृषि पेशामा नै आत्मानिर्भर बनाउन नगरले दर्जनौं योजना ल्याएको छ।अब नगरलाई कृषिमा आत्मनिर्भर बनाउनुहोस् हामी तपाईंहरुलाईं व्यावसायिक किसान बनाउँछौं।’

प्रकाशित मिति : माघ १५, २०७६ बुधबार  १२ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]