दुधे मिनी महोत्सवको बचत रकमले सार्वजनिक शौचालय निर्माण गर्ने
शिवसताक्षी । दुधे स्थानीय बजार व्यवस्थापन समितिले प्रथम दुधे मिनी मेलाको आय व्यय सार्वजनिक गरेको छ । बजार समितिले पत्रकार सम्मेलन गरी आय व्यय सार्वजनिक गरेको हो ।
मिनी मेलामा बजार समितिले १६ लाख आम्दानी गरेको सार्वजनिक गरेको हो । जसमा विभिन्न शिर्षकमा ६ लाख खर्च भई १० लाख खुद नाफा रहेको स्थानीय दुधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।
गत आश्विन १८ गतेदेखि २९ गतेसम्म दूधे बजारको हाटबजार लाग्ने स्थानमा मिनी महोत्सवको आयोजना गरिएको थियो । आयोजक दुधे बजार व्यवस्थपान समितिले मेलाबाट बचत भएको ५ लाख रकम दूधे बजारमा सुविधा सम्पन्न शौचालय निर्माणमा छुट्याएको छ ।
त्यस्तै बजार भित्रको सडक बत्ती महशुल, मर्मत र खरिदमा २ लाख ५० हजार, हाटबजार भित्रको जीर्ण अवस्था रहेको राम मन्दिरलाई पुननिर्माणका लागि १ लाख, विहीबारे हाटमा बस्नको लागि स्टिलको कुर्सी व्यवस्थापनका लागि ६० हजार रकम छुट्याइको अध्यक्ष थोप्राले जानकारी दिए ।
हप्तामा विहीबारका दिन ठूलो हाट लाग्ने दूधे बजारमा सार्वजनिक शौचालय नहूँदा व्यापारी, ग्राहक लगायत टाडाबाट आउने आगन्तुकहरुलाई समेत समस्या पर्दै आएको छ । शौचालय निर्माणका लक्ष्य राखेर मिनी मेलाको आयोजना गरिएको समेत अध्यक्ष थोप्राको भनाई छ ।
थोप्राका अनुसार बचत रकम शौचालय निर्माणमा अपुग भएपनि शिवसताक्षी नगरपालिका, स्थानीय व्यापारी लगायतको सहयोग सुविधा सम्पन्न शौचालय निर्माणका लागि कार्यक्रम अघि बढाइने छ । शौचालय निर्माणका लागि बजारभित्र जग्गा व्यवस्थापन भइसकेको छ । बजार समितिले दुधे बजारको पूर्व पश्चिम बस स्टेण्डको आसपास पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजी गरिरहेको समितिले जनाएको छ ।
दुधे स्थानीय बजार व्यवस्थापन समितिले मिनी मेलाको साथ साथै दुर्गा पुजाको समेत आयोजना गरेको थियो । जसबाट खर्च कटाएर ६ हजार ४ सय रकम बचत भएको छ । उक्त बचत रकम बजार समितिको खातामा जम्मा गरिएको दूधे स्थानीय बजार व्यवस्थापन समितिका कोषाध्यक्ष तथा दुर्गा पुजाका संयोजक मुना विमलीले जानकारी दिइन् ।
दुई वर्षअघि दुधे स्थानीय बजार व्यवस्थापन समिति नयाँ नेतृत्व आएपछि बजार विकास लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।