बैशाख १७, २०८१ सोमबार

अङ्ग्रेजी माध्यमको नाममा विद्यार्थीलाई बिभेद नगर्नु : जिसस प्रमुख पोर्तेल

बिर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले सामुदायिक विधालयहरुले अंग्रेजीमाध्यमका नाममा विधार्थीलाई विभेद नगर्न आग्रह गरेका छन् । उनले एउटै विधालयका विधार्थी कोहि अंग्रजी कोहि नेपाली माध्यमका नाममा विभेदमा पर्न नहुने बताएका छन् ।

लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा – ६ को ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख पोर्तेलले सामुदायिक विधालय अध्ययनरत सबै विधार्थीले एउटै भाषामा अध्ययन गर्न पाउनुपर्ने बताए । उनले एउटै विधालयभित्र दुई भाषामा पठनपाठन भए विधार्थीमा विभेद हुने जिकिर गरे । सँगै आएको साथी अंग्रेजी बोल्छ, लेख्छ अर्को सार्थी नेपाली मात्र बोल्छ, लेख्छ यो विधालयको समस्या हो । केहि शुल्क बुझाउन सक्नेले अंग्रेजी पढ्ने भयो, फेरि गरिब विपन्नले नेपाली नै पढ्नुपर्ने भयो – पोर्तेलले भने । सामुदायिक विधालयमा कुनै विधार्थीले विभेद् भोग्न नपरोस् भन्दै उनले लक्ष्मी माविलाई यस विषमा सचेत रहन सूझाव दिएका छन् ।

लामो समय विवादमा रहेको विधालयमा अब नयाँ ढंगले अघि बढेकोले शिक्षाको गुणस्तर सुधारमा लाग्न पोर्तेलको आग्रह छ । उनले अहिले पनि पूर्व प्रअ विरेन्द्र प्रसाद गुप्ताले हिसाव नबुझाएको कुरा बाहिर आएकाले त्यस्ता समस्या समाधानमा लाग्ने पोर्तेलको भनाई छ ।

अर्जुनधारा –६ का वडासदस्य टुम्मनाथ काफ्लेले विधालयको शैक्षिक विकासको लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले स्थानीय सरकार शैक्षिक क्षेत्रको गुणस्तर सुधारमा निरन्तर क्रियाशिल रहेको जानकारी दिँदै लक्ष्मी माविको पठनपाठनलाई थप व्यवस्थित उत्कृष्ट बनाउन आग्रह गरेका छन् ।

कार्यक्रममा समाजसेवीको तर्फबाट बोल्दै हरिशचन्द्र बाँस्तोलाले विधालयको विवाद अझै समाधान नभएको बताए । उनले पूर्व प्रअ गुप्ताले हिसाव नबुझाएको जानकारी गराउँदै तत्काल हिसाब बुझाउन आग्रह गरेका छन् । उनले भने, जिल्ला प्रशासनले दिएको समय सकिएको छ, त्यो समय सरकारी रकम खोजीको लागि हो । हामी दाताले दिएको सहयोगको पनि खोजी हुनुपर्छ । उनले नयाँ व्यवस्थापनबाट विधालय सञ्चालन शुरु भएकोले शिक्षाको गुणस्तर सुधारमा जोड दिएका छन् । विधालयमा बस छ, उनले भने– बसलाई किन थन्क्याइयो ? यसलाई तत्काल सञ्चालनमा ल्याई विधार्थीलाई सुविधा प्रदान गर्न उनको आग्रह छ । यस्तै विधालय व्यवस्थापन समितिका सदस्य राम घिमिरेले विधालय अझै आर्थिक रुपमा पारदर्शी नभएको बताएका छन् । उनले पूर्व प्रअले हिसाव नबुझाएको भन्दै उनले इमान्दारितका साथ हिसाव बुझाउन सूझाव दिए ।

लामो समयदेखि विवादमा रहेको विधालय अहिले सामान्य अवस्थामा फर्किएको छ । विधालयमा अहिले पनि पूर्व प्रअ गुप्ताले केहि कोठामा तालाबन्दी गरेको बताइएको छ । कार्यक्रममा बक्ताहरुले गुप्ताले विधालयबाट विदा लिएर पनि तालाचावी आफै बोक्नु गलत रहेको टिप्पणी गरेका छन् ।

विधालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्र काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा विधार्थीले मार्चपास गरेका थिए । सोहि अवसरमा विधार्थीले नृत्य समेत प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : माघ १७, २०७६ शुक्रबार  १२ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]