बिर्ता धनलक्ष्मीको ११ औं वार्षिक साधारणसभामा सम्मान
बिर्तामोड । झापाको बिर्तामोड–५ मा रहेको बिर्ता धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले ११ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज बिर्तामोडमा साधारणसभामा सम्पन्न गरेको हो ।
साधारणसभाको अवसरमा सहकारीले संस्था स्थापनाकालका अगुवा कमल भण्डारीसहित ज्येष्ठ नागरिक, उत्कृष्ट बचतकर्ता, कर्मचारीलाई सम्मान गरेको छ । सहकारीले बिर्ता धनलक्ष्मी वर्ष सम्मानबाट संस्था स्थापनाकालका अगुवा भण्डारीलाई नगद ५१ सय सहित सम्मानपत्र प्रदान गरेको छ ।
यस्तै, संस्थाको ११ औं वार्षिक साधारणसभामा ज्येष्ठ सदस्य भगवती देवी सिलवाल, उत्कृष्ट बचतकर्ता डम्बर भण्डारी, उत्कृष्ट व्यवसायी लोकनाथ अधिकारी, उत्कृष्ट बाल बचतकर्ता नुमा सिटौला, एकल सदस्य सम्मानबाट कोमलमाया राजवंशी र उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि बिना लिम्बुलाई सम्मान एवम् पुरस्कृत गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि स्वरोजगार कोषका झापा जिल्ला प्रतिनिधि सन्तोष सापकोटाले नगद पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
०७० सालमा स्थापना भएको सहकारीमा १३ सय ४९ सदस्य पुगेको छ । साधारणसभा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुरेन्द्र भण्डारीले ८५ लाख ३ हजार ३ सय रुपैयाँ शेयर रहेको संस्थामा १ करोड ४७ लाख ६४ हजार ५ सय २८ रुपैयाँ निक्षेप रहेको जानकारी दिए । उनका अनुसार यस वर्ष संस्थाले बिना धितो लगानी १४.७५ प्रतिशत र धितो लगानीमा १४ प्रतिशत र युवा स्वरोजगारको १० का दरले लगानी गरिनेछ ।
उनले शेयर सदस्यहरुलाई जटिल रोग लागेको पुष्टि भएमा योगदानका आधारमा संस्थाले ५ हजारदेखि २० हजारसम्म आर्थिक सहयोग गर्ने जानकारी दिए । बिर्ता धनलक्ष्मीले ०८०-८१ मा २ करोड २ लाख ४६ हजार ६ सय ७९ रुपैयाँ सदस्यहरुलाई लगानी गरेको छ भने २ करोड ५ लाख ८९ हजार ५ सय २७ रुपैयाँ कर्जा असुली गरेको जनाएको छ ।
लेखा सुपरिवेक्षण समितिका संयोजक पदम प्रसाद खडकाले समितिको प्रतिवेदन सार्वजनिक गरेका छन् । उनले ०८०-८१ मा १९ लाख ६८ हजार ३ सय ८४ रुपैयाँको धितो कर्जा उठाउन सफल भएको साधारणसभामा प्रस्तुत गरेका थिए । यसअघिका दुई आर्थिक आर्थिक वर्षको वित्तिय विवरण व्यवस्थापक सृजना आचार्यले सार्वजनिक गरेकी थिइन् ।
संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि स्वरोजगार कोषका जिल्ला प्रतिनिधि सन्तोष सापकोटा, संस्था स्थापनाकालका अगुवा कमल भण्डारी, स्वरोजगार भवानी साकोसका विभागीय प्रमुख रुपन चाम्लिङ , सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर तोयानाथ दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । दाहालले बीमा सेवाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन सचिव छविरमण बरालले गरेका थिए ।
अध्यक्षमा चन्द्रप्रसाद काफ्ले सर्वसम्मत
संस्थाले साधारणसभाबाट नयाँ नेतृत्व समेत चयन गरेको छ । साधारणसभाले अध्यक्षमा चन्द्रप्रसाद काफ्लेलाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै, उपाध्यक्षमा विष्णु मैनाली उप्रेती, सचिवमा पदम प्रसाद खड्का र कोषाध्यक्षमा यामप्रसाद तिम्सिना सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा लीलादेवी बिक, डिल्लीमाया खरेल र तुलसी बञ्जरा चयन भएका हुन् ।
साधारणसभाले लेखा सुपरिवेक्षण समितिको संयोजकमा इन्द्रकुमार परियार, सदस्यहरुमा खेमराज कोइराइला र छाँयादेवी तिम्सिनालाई चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।